डोटी, २९ वैशाख: कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार त्यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए ।
यसैगरी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताए । उनले भने, “संस्थामा काम गर्ने दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, आकस्मिकबाहेकका अन्य सेवा हामीले बन्द गरेका छौँ ।”
उक्त स्वास्थ्य कार्यालयले एक सूचना सार्वजनिक गरी आगामी जेठ २ गतेसम्मका लागि आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ । स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन् ।-रासस