Logo

बामदेवको इन्ट्रीले तीन सांसद राजीनामा दिन तयार



काठमाडौं, २९ वैशाख । नेकपा एमालेका २० प्रत्यक्षतर्फ निर्वाचित सांसदको राजीनामा तयार भएको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २० सांसदहरुमध्ये केही सांसद अझै केपी शर्मा ओलीसँग सहमति गरेर एमालेको एकता कायमै गर्नुपर्ने पक्षमा रहँदा बामदेव गौतमको प्रवेशले सबैजना राजीनामाका लागि अगाडि बढ्न तयार भएका हुन् ।

नेपाल-खनाल समूहका सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट अझै राजीनामाका लागि तयार थिएनन् । तर, उनीहरुलाई बामदेव गौतमले कन्भिन्स गरेको बुझिएको छ । तीनैजना नेताले यसअघि बालुवाटार पुगी ओलीसँग भेटेर सहमति निर्माणको कसरत समेत गरेका थिए । तर, नेपाल खनाल समूह छाड्न सकेका थिएनन् ।

तीनैजनालाई गौतमले भविष्यको राजनीतिक मार्गबारे समेत प्रष्ट पारेपछि सहमत भएका थिए । गौतमले ओलीको बर्हिगमनमा जोड दिएर नयाँ ढंगले अगाडि बढ्ने योजना सुनाएका थिए । त्यसपछि तीनैजना नेता सहमत भएको बुझिएको छ ।

२० प्रत्यक्षतर्फका र ८ समानुपातिकतर्फका नेपाल खनाल समूहका नेताहरु राजीनामका लागि तयार भएका छन् । उनीहरुको राजीनामापछि २० सिटमा हुने उपनिर्वाचनमा गठबन्धनको उम्मेदवार साझा रुपमा यीनै नेताहरु हुनेगरी सहमति समेत बनेको छ ।

विश्वस्त स्रोतका अनुसार नेपाल खनाल समूहले नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्ने खाका समेत तयार गरेको छ । दलको अध्यक्षहरुमा माधवकुमार नेपाल र बामदेव गौतम रहने गरी सहमति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्