काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । जसपाभित्र अध्यक्ष महन्थ ठाकुरको पक्षमा उभिँदै आएका नेता महतो अहिले एक्लै देउवालाई भेट्न पुगेका हुन् ।
कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयत्न गरिरहँदा जसपाको सिंगो साथ खोजेका छन् । तर, ठाकुर पक्षले भने वैकल्पिक सरकार गठनमा नसघाउने बताइसकेको छ । उता, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भने देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन् । आजै जसपाको बैठक बस्दैछ ।
आज बस्ने बैठकले महत्वपूर्ण निर्णय दिने एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि आज राति ९ बजेसम्मको समय दिएकी छिन्। तर, जसपा यसमा अनिर्णित बन्दा देउवालाई अलिक अप्ठ्यारो परेको छ । देउवाले जसपा र माधव नेपाल पक्षको निर्णय कुरेका छन् ।
तर, एमालेमा अध्यक्ष ओली र नेता नेपालबीच सहमतिको प्रयास भएको छ । आजमात्रै एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेतालाई गरेको निलम्बन कारबाही फुकुवा गरेका छन् । File Photo/ReportersNepal