काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर आफू पक्षधर सांसदहरुलाई लिएर भक्तपुरको सूर्यविनायक एक रिसोर्टमा पुगेका छन् । संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि अन्तिम राष्टपतिले आह्वान गरेबमोजिम आज राति ९ बजे समय समाप्त हुँदैछ । त्यो भन्दा अघि नै यतिवेला दलका नेताहरुको सक्रियता बढेको छ । सत्ता समिकरणमा जसपा निणायक शक्ति बनेको छ ।
तर, जसपा आँफैमा भने दुई धारमा विभाजित बनेको छ । अध्यक्ष उपेन्द्र यादव वैकल्पिक सरकारको पक्षमा छन् भने ठाकुर पक्ष कुनैपनि हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने बताउँदै आएका छन् । वैकल्पिक सरकार बनाउनेगरि गृहकार्यमा जुटेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै अध्यक्ष ठाकुरले आफू पक्षधर सांसदहरुलाई बबरमहलमा बोलाएका थिए ।
त्यहाँ एकछिन बस्नेबित्तिकै सबै सांसदहरुलाई लिएर उनी भक्तपुरको एक भव्य रिसोर्टमा पुगेको बताईएको छ । उक्त रिसोर्टमा पुगेका एक सांसदकाअनुसार अहिलेसम्म १४ जना सांसद त्यहाँ पुगेका छन् । तर, उनले अरु सांसदहरु पनि आउने क्रम जारी रहेको भन्दै १९ जना सांसद आफूहरुको पक्षमा पुग्ने दाबी गरे । file photo