Logo

महन्थ ठाकुर निर्णायक शक्ति बन्दा देउवा रोकिए ओली फेरि प्रधानमन्त्री



काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीको दौड निर्णायक बन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बहुमत बनाउन सक्रिय थिए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई मनाउन सक्नुपर्ने अवस्था थियो । उपेन्द्र यादव उनकै साथमा थिए ।

ठाकुर नमानेपनि माधवकुमार नेपाललाई एमालेका २० प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामा गराउने अवस्था बनाएर उपेन्द्र यादव समूहमा आधा जसपा सांसद साथ रहने अवस्था बनाउनुपर्ने थियो । अन्तिम समयमा आएर नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने निर्णय लिए । उनले ४ घन्टा वार्ता गरेर सहमति निकालेर राजीनामा रोके ।

देउवासँग त्यतिबेला सम्म पनि विकल्प बाँकी थियो । महन्थ ठाकुरलाई मनाएर सहमतिमा ल्याउन सक्थे । तर, ठाकुर आफू पक्षीय सांसदहरु लिएर भक्तपुरको डोलेश्वरस्थित रिसोर्टमा पुगे । उनीनिकट सांसद चन्दा चौधरीले रिसोर्टमा बैठक बसेको बताइन् ।

ठाकुरलाई फकाउन देउवाले बुढानिलकण्ठमा दिउँसो वार्ता गरेका थिए । राजेन्द्र महतो पनि साथमा थिए । तर, ठाकुरले देउवालाई साथ दिन नसक्ने जवाफ दिए । त्यसपछि देउवा बहुमत बनाउन विफल भए । ठाकुर नमानेको र नेपालसहित २० सांसदले राजीनामा नदिने बुझेर देउवाले प्रचण्डसँग भेटवार्ता गरे ।

दुवै नेताले विकल्पबारे छलफल गरे । एउटा विकल्पमा जसपालाई सरकारको नेतृत्व दिएर बढ्नसक्ने थियो । त्यसमा देउवा सहमत भएनन् । निर्णायक शक्ति बनेका महन्थ ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गरेको भए सहमति बन्नसक्थ्यो । उनले सरकारको नेतृत्व दाबी प्रस्तुत गर्दै आएका थिए ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा.शेखर कोइरालालगायत ठाकुरलाई प्रधानमन्त्री बनाएर जाने पक्षमा थिए । तर, देउवा तयार भएनन् । केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिने आक्रामक रणनीति चाल्न देउवा तयार नभएपछि सत्ताको खेल ओलीकै पक्षमा गयो ।

कुनै सांसदले प्रतिनिधि सभाको बहुमत सदस्य संख्याको साथ रहेको हस्ताक्षरसहितको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी पुर्याउन नसक्ने भएसँगै बाजी ओलीले मार्ने भएका छन् । फेरि उनी नै प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।



प्रतिक्रिया दिनुहोस्