काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी निर्माण आकस्मिक घटनाको उपज हो । उपेन्द्र यादव नेतृत्व्को तत्कालीन समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेपछि जोगाउन राष्ट्रिय जनता पार्टीसँग रातारात एकीकरण गरी जसपा निर्माण भएको हो ।
उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई समाजवादी पार्टीको एकता बचाउन निकै हम्मे परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेत नै समाजवादी पार्टी फुटाउन सक्रिय भएका थिए । उनीमाथि पछि डा. सुरेन्द्र यादव अपहरणको आरोप समेत लाग्यो ।
जसपा निर्माण त भयो तर महन्थ ठाकुर र उपेन्द्र यादव समूह सक्रिय नै रह्यो । ओली र उनीविरोधी गठबन्धनको सत्ता संघर्षमा दुई नेता फरक धारमा पुगे । ठाकुरको अप्रत्यक्ष साथ ओलीलाई रह्यो । विश्वासको मत लिँदा उनी तटस्थ बसे । उपेन्द्र यादव ओलीको विपक्षमा उभिए ।
ओलीविरोधी गठबन्धनमा उपेन्द्र यादव सक्रिय भए लागे । तर, महन्थ ठाकुर त्यसको ठिक विपरित भुमिकामा रहे । उपेन्द्र यादवले गरेको निर्णयहरुप्रति आपत्ती जनाउँदै ठाकुरले विज्ञप्ति सार्वजनिक गर्ने देखि काउन्टरमा पत्र लेख्ने गर्न थाले ।
केन्द्र देखि प्रदेशसम्म जसपाभित्र विवाद छताछुल्ल भइसकेको छ । यसले विभाजनको धाँजा फाटेको छ । कुनैपनि बेला जसपा फुट्न सक्छ । नेताहरु जोगाउन सक्रिय छन् ।
जसपाभित्र विवादको चुरा महन्थ ठाकुर ओलीतिर र उपेन्द्र यादव प्रचण्डतिर हुनु हो । ओली र प्रचण्डको टकरावको असर जसपामाथि देखिइरहेको छ ।