काठमाडौं, ३ जेठ । अर्थविद्हरुले जीवन रक्षाको लागि बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. चन्द्रमणि अधिकारीले राम्रो अर्थमन्त्रीले फेयर बजेट ल्याउने पनि सुनाए । अहिले पपुलिष्ट बजेट ल्याउन नहुने उनको तर्क छ । उनले प्रचारमुखी बजेट ल्याउन नहुने भन्दै भोलि यस्तो बजेट ल्याईए कार्यान्वयनमा जान मुश्किल हुने तर्क गरे । डा. अधिकारीले वर्तमान सरकारले अघि सारेका नीति राम्रो भएको पनि सुनाए ।
अर्का अर्थविद् डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारलाई उनले अन्तरिम सरकारको संज्ञा दिए । उनले वर्तमान सरकारले नैतिक रुपमा पनि पूर्ण बजेट ल्याउन नपाउने तर्क गरे । उनले वर्तमान सरकारले उथलपुथल गर्ने खालको बजेट ल्याउन नसक्ने बताए । उनले बजेटभन्दा अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुपर्ने पनि सुझाव दिए ।