Logo

माधव नेपालले बादललाई सघाउने वचन नदिएको स्पष्टोक्ति



काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई सघाउने वचन नदिउको प्रष्ट पारेको छ । नेपालका स्वीकीय सचिव मोहन गौतमले आज साँझ वक्तव्य जारी गर्दै सघाउने वचन नदिएको बताएका हुन् । तर, मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भएको स्वीकारेका छन् ।

बादलले आज नेता नेपाललाई कोटेश्वरस्थित निवासमा भेटी सघाउन आग्रह गरेका थिए । उनले कम्तिमा स्वविवेक प्रयोग गर्न दिन समेत भनेपछि त्यसमा सहमति भएको हो ।

राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने एक सदस्यका लागि बिहिबार हुने निर्वाचनमा माधवकुमार नेपालको समेत पूर्ण सहयोग पाउने भएको बादलका प्रेस संयोजक किरण भट्टराईले सार्वजनिक गरेका थिए । नेपाल निवास कोटेश्वर पुगेका बादललाई सहयोगको प्रतिवद्धता आएको भट्टराईले उल्लेख गरेका थिए। उनले नेपाल र बादलबीचको भेट सकारात्मक रहेको समेत जानकारी गराएपछि चासो बढेको थियो ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका बादलको सांसद पद खारेज भएपछि सोही पदमा उनी एमालेबाट उम्मेदवार बनेका हुन् । नेकपा एमालेको माधव नेपाल समूहबाट खिमलाल देवकोटा समेत उम्मेदवार छन् । उनको कलम चिन्ह छ ।



प्रतिक्रिया दिनुहोस्