देवप्रकाश त्रिपाठी: ‘ईश्वर’ शब्द सुन्ने बित्तिकै कम्युनिष्ट मतावलम्बीहरू झसङ्ग हुन्छन् । दार्शनिक नित्सेले ‘ईश्वर मरेको’ घोषणा गरेको कारणले ‘भूत’ ठानेर कम्युनिष्टहरू तर्सने गरेका अवश्य होइनन्, बरु कम्युनिष्टहरूले भगवान् मानेका कार्ल मार्क्सले धर्मलाई अफिमको संज्ञा दिँदै ईश्वरको अस्तित्वलाई अस्विकार गरेका हुनाले कम्युनिष्टहरू ईश्वरको कुरा आएपछि झस्कने गरेको ठान्न सकिएला ।
ईश्वरको अस्तित्व रहे-नरहेको या ईश्वर भनेको के हो, पूर्वीय र पश्चिमी सभ्यताले धर्म र ईश्वरलाई कसरी बुझ्ने गरेका छन् भन्ने जस्ता प्रश्नहरूमा अध्ययन नगरिकन कम्युनिष्ट बनेका मानिस बिनाकारण ईश्वरको अस्तित्वलाई अस्विकार गर्दछन् र, पदार्थबाट नै चेतनतत्वको विकास भएको ठान्दछन् । चेतनालाई पदार्थको परिणाम ठान्ने मार्क्स र उनका अनुयायीहरू चार्वाक नामक भौतिकवादी पूर्वीय दर्शनले हज्जारौँ वर्षअगाडि नै उक्त मत अवलम्बन गरेको विषयप्रति अनभिज्ञता या उपेक्षा भाव प्रस्तुत गर्ने गर्दछन् ।
याज्ञवल्क्यले आकाश, पृथ्वी, जल, वायु र अग्नि तत्वबाट जीवन सृष्टि भएको र शरीर नास भएपछि यिनै तत्वमा विलिन हुने बताएका छन् । मिमान्सा, जैन, बौद्ध, न्याय र वैशेषिक दर्शनले परमाणुवादको वकालत गरेका छन् । पश्चिमका वैज्ञानिकहरू परमाणुको अस्तित्वबारे जानकार हुनुभन्दा हज्जारौँ वर्षअघि नै पूर्वीय शास्त्रमा परमाणुबारे उल्लेख छ । वैशेषिक मतका अनुसार परमाणु त्यस्तो द्रव्य हो जुन विभाजित हुन सक्दैन, सृष्टि नहुने भएकोले परमाणुको बिनास हुन सक्दैन र, परमाणुको प्रारम्भ र अन्त्य पनि हुने छैन । सृष्टिका बारेमा गौतमऋषिकृत न्याय दर्शनले परमाणुवादमा आधारित भएर जगतबारे अनेक ब्याख्या गरेको छ । न्यायदर्शनका अनुसार अति सूक्ष्म तत्व नै परमाणु हो, जसलाई टुक्र्याउन सकिँदैन र त्यो नै सृष्टिको आधार हो । वास्तविक अणुबाट जगतको रचना हुन्छ, ईश्वरले सृष्टिको रचना, पालना र संहार गर्ने गर्दछन् । न्यायदर्शनको ठहर छ– अणु पदार्थ हो र पदार्थलाई चेतनतत्वले आफ्नो वशमा राखेर जगतको सृष्टि गर्दछ । हो, त्यो चेतनतत्व नै ईश्वर हो । वैशेषिक दर्शन, जसमा गुरुत्वाकर्षणबारे समेत वर्णन छ । वैशेषिक मतले अनित्य द्रब्यद्वारा जगतको सृष्टि र प्रलय हुने विश्वास गर्दछ । आत्मा, काल, आकाश, शिदा, मन र भौतिक परमाणुलाई जगतको नित्य र अविनासी मान्ने वैशेषिकले चेतन तत्वलाई नै ईश्वर ठहर गरेको छ ।
कपिलमुनिकृत साङ्ख्यदर्शनले प्रकृति र पुरुष नै सृष्टिको कारण भएको निष्कर्श निकालेको छ । प्रकृतिले पदार्थ अर्थात् जड पैदा गराउँछ, तर पुरुषतत्व चेतन र अन्य अनेक रूपमा हुन्छन् । पुरुष आफैं चैतन्य हो, त्यो मन, अहङ्कार र शरीर केही पनि होइन । पुरुषतत्व सर्वव्यापी, असीमित, निरङ्कुश र सनातन छ । प्रकृति (पदार्थ) आफैंले आफ्ना कृतिहरू भोग्न नसक्ने भएकोले उसको भोग चेतनतत्वले गर्दछ, त्यसैले पुरुष (चेतन) भोक्ता तत्व हो र प्रकृति (पदार्थ) भोग्या हो । साङ्ख्यले सृष्टिबारे अझ स्पष्ट गर्दै भनेको छ- प्रकृति र पुरुषको संयोग नै सृष्टिको कारण हो । पुरुष निष्कृय छ, त्यसैले आफैंले सृष्टि गर्न असमर्थ छ । प्रकृति जड (पदार्थ) हो, ऊ एक्लैले पनि सृष्टि गर्न सक्दैन ।
त्यस्तै, मिमान्सा दर्शनले संसारमा जान्न सकिने सबै वस्तुलाई झुठो र अज्ञात तथा अदृष्य तत्वलाई सत्य ठानेको छ । परमाणुवादमा विश्वास गर्ने मिमान्साले मूल जगतको सृष्टि र प्रलय नहुने निष्कर्श दिएको छ । तर वेदान्त दर्शनले भने ब्रह्म नै सत्य भएको र सत्य एउटै हुने दाबी गर्दछ । वेदान्तका अनुसार ईश्वर नै सृष्टिका रचियता हुन् ।
संसारमा मानिसबीच मतभिन्नता र विवाद अनेक विषयमा छन् । घरजग्गाको साँध-सीमानामा उत्पन्न विवाद नै कैयन मानिसका निम्ति सर्वाधिक ठूलो मुद्दा बनिरहेको हुन्छ । कतिपय मानिस प्रेमविवाह ठीक या व्यवस्थित-विवाह भन्ने तहको विवादमा अल्झिरहेका हुन्छन् त कोही गाई ठिक कि भैंसी र, माक्र्स ठीक कि हिगल भन्ने स्तरको विवाद गरेर पूरा जीवन बिताइरहेका हुन्छन् । मानव जगतको उत्पत्ति भएयता निरन्तर विवाद र छलफल चलिरहेको तर अहिलेसम्म कुनै ठोस निष्कर्शमा पुग्न नसकिएको विषय हो- ईश्वर । जगतको सृष्टि पदार्थको स्वाभाविक तर अप्रत्याशित विकासक्रमबाट भएको हो या ईश्वरले जानाजान रचना गरेको हो ? संसार सृष्टि गर्ने ईश्वरको आफ्नै सृष्टिचाहिँ कसरी भयो ? ईश्वर स्वयममा के हो ? ईश्वर प्रत्यक्ष छन् या निःशब्द/निराकार ? ईश्वर नै परमात्मा हुन् या परमात्मा र ईश्वरबीच पनि अन्तर छ ? यदि पदार्थबाट नै सृष्टिको विकास भएको हो भने पदार्थमा अचानक चेतनतत्वको प्रवेश कसरी हुन सक्यो भन्नेजस्ता हज्जारौँ प्रश्नहरूको जवाफ अनादिकालदेखि नै खोजी हुँदै आएको छ, तर यसको सर्वमान्य निष्कर्शमा मानिस पुगेका छैनन् । ईश्वरको अस्तित्वसम्बन्धी विवाद अझै जारी छ र, कुनै अप्रत्याशित एवम् चामत्कारिक घटनाले शिद्ध नगरेसम्म मानिसहरू ईश्वरको अस्तित्वका बारेमा यकीन हुन पनि नसक्लान् ।
ईश्वरको अस्तित्वप्रति विश्वास या अविश्वास राख्ने सुविधा हरेक मानिसलाई हुन्छ । पृथ्वीमा मानिसको उत्पत्ति भएयता विवाद शुरु भएर पनि अहिलेसम्म टुङ्गो नलागेको विषयमा जोर-जबर्जस्ती गरी जडवादी विचार नै सही भएको भनी जिद्दी गर्नु कुनै पनि दृष्टिले उचित होइन, तर कम्युनिष्टहरू सत्यको सत्ता पत्ता लगाइसकेको भ्रममा छन् र, सबैलाई अनिश्वरवादमा लामवद्ध रहन लगातार दबाब पैदा गरिरहन्छन् ।
मार्क्सवादले ईश्वर तत्वको अस्तित्वलाई अस्वीकार मात्र गरेको होइन, सृष्टिको आधारतत्वका बारेमा अध्ययन, अनुसन्धान तथा बहस र छलफललाई समेत वर्जित गरेको छ । चार्वाक दर्शनमा हज्जारौँ वर्षअघि नै ब्याख्या र विश्लेषण भएको भौतिकवादी अवधारणाको खण्डन अन्य पूर्वीय दर्शनहरूले तर्कसम्मत ढङ्गले गरेका छन् । यदि भौतिकवादी नै बन्नु छ भने पनि पूर्वीय दर्शन ईश्वरवादी होस् या परमाणुवादी या चेतनतत्ववादी हुन् या भौतिवादी र अनिश्वरवादी, यिनले सत्यको सत्ता पत्ता लगाउने विषयमा आफूलाई केन्द्रीत गरेका छन् । तर मार्क्सको भौतिकवाद सत्यको सत्तासम्म पुग्ने उद्देश्यप्रति लक्षित छैन । मार्क्सको ज्ञानको सम्पूर्ण सार मानिसको पेटसँग सम्बन्धित छ र, उनले पेटसँग वर्गीय अवधारणासहित राजनीति जोडिदिएका छन् । वास्तवमा मानिस भनेका ‘पेट’ मात्र होइनन्, तर मार्क्सले मानिसलाई एउटा पेटका रूपमा मात्र बुझेका र बुझाएका छन् ।
मार्क्स संस्कृत, नेपाली, हिन्दी भाषा अर्थात् देवनागरी लिपि बुझ्दैनथे, उनी आफैं गाँसको समस्यामा थिए । संसारका सबै मानिसका निम्ति त्यो बस्तु सबैभन्दा ठूलो हुन्छ, जुन उसको पहुँचभन्दा बाहिर रहन्छ, अर्थात् जुन कुराको उसलाई अभाव हुन्छ त्यो नै ठूलो हुन जान्छ । मार्क्ससँग पनि ‘पेट’ थियो र, पत्नीले आफूलाई ‘दाउमा राखेर’ आर्जन गरेको रकमबाट जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा उनी थिए । त्यसैले मार्क्सका निम्ति उदरपूर्ति नै सबैभन्दा ठूलो समस्या बनेको थियो । मार्क्सले द्वन्द्वात्मक भौतिवादलाई मान्छेको पेटसँग तथा पेटलाई वर्गवाद र राजनीतिसँग जोड्नुअघि संसारमा जाति, भाषा, धर्म र संस्कृति आदिका आधारमा मात्र मानिस विभाजित थिए । वर्गवाद र पेटवादलाई राजनीतिसँग गाँसिदिएपछि संसारभरिका पेटवादीहरूमा एक प्रकारको रोमाञ्चकता पैदा भयो र ‘भात’ पाउनका निम्ति राज्यसत्ता खोज्ने अनौठो क्रान्तिकारिताको प्रकोप विश्वव्यापी बन्न पुग्यो ।
वर्ग समन्वयलाई औचित्यहीन ठान्ने मार्क्सले वर्ग सङ्घर्ष हुँदै साम्यवादसम्म पुग्ने जुन विचार प्रतिपादन गरे, त्यसले संसारभरिको राजनीतिलाई हिंसामुख बनाइदिएको छ । जाति, धर्म र भाषाका नाममा विश्वमै जे–जति मानिस अहिलेसम्म मारिएका छन्, त्योभन्दा सयौँ गुणा ज्यादा मानिस रसिया र चीनमा क्रान्तिकारिताको नाममा मारिए । एकथरी मानिसलाई भौतिक रूपमै सिध्याएर एउटा वर्गका मानिसको मात्र रक्षा र विकास गर्ने आततायी एवम् हिंसात्मक सोचका कारण करोडौँ मानिस आफ्नो ज्यान गुमाउन बाध्य भए । पेरु, इण्डोनेशिया, थाइल्याण्ड, भारत र कम्बोडिया, नेपाल, चीन र रसियालगायतका मुलुकको इतिहासले उपरोक्त तथ्यको पुष्टि गर्दछ ।
मार्क्सको विचारमा टेकेर भी.आइ. लेनिनले हिंसा, जालझेल, तिकडम र धोखाधडीको सहारा लिइ रसिया (पछि सोभियत सङ्घ)को सत्ता हात पारेका थिए, स्टालिनले केवल हिंसाको माध्यमबाट कम्युनिष्ट सत्ताको आयू लम्ब्याएका हुन् । करोडौँ निर्दोष जनताको हत्या गर्ने स्टालिनले पार्टीभित्रका आफूसँग विमति जनाउने चौरान्नब्बे हजार नेता-कार्यकर्ताको हत्या गरेको रसियाको इतिहासमा अङ्कित छ । स्टालिनले भन्दा कैयन गुणा ज्यादा (६ करोडभन्दा बढी) मानिसको हत्या चीनमा माओ त्से तुङ्गले गराएका थिए भने कम्बोडियामा पोलपोटले पनि साम्यवाद र क्रान्तिका नाममा दशौँ लाख निर्दोष नागरिकको ज्यान लिएका थिए । यस्ता ऐतिहासिक तथ्यहरूले मार्क्सवादको उदय मानव समाजका निम्ति कति घातक रह्यो भन्ने कुराको उजागर गरेको छ ।
इसाइ र इस्लाम धर्मावलम्बीहरू पनि ईश्वरमा विश्वास गर्छन् । वैदिक सनातन हिन्दू धर्मजस्तो उदार, व्यापक र स्वतन्त्रताको प्रत्याभूति दिलाउने अर्को कुन धर्म छ भन्ने विषयमा अध्ययन छलफल गर्न सकिन्छ । पूर्वीय मान्यताअनुसार आत्मा र शरीर अलग-अलग हुन्, तर इसाइ र इस्लामहरू शरीरलाई नै आत्मा मान्छन् । मृत्युपछि लासलाई सूरक्षित रहने गरी जमिनमा गाड्नुका पछाडिको कारण बुझियो भने उनीहरूको ईश्वरप्रतिको विश्वास स्पष्ट हुन्छ । अन्तिम निर्णयका दिन (Last day of the judgememt) चिहान भएको स्थानमा परमेश्वरको अवतरण हुनेछ र, धर्मात्माहरूलाई आफ्नो दायाँ हाततर्फ तथा पापीहरूलाई बायाँतर्फ लामवद्ध गराएर ‘फैसला’ सुनाइन्छ भन्ने विश्वास उनीहरूमा छ । सनातनी सभ्यताले जीवन, जगत र सृष्टि रहस्य बारेका निरन्तर अध्ययन र चिन्तन-मननलाई प्रोत्साहित गरिरहेको छ ।
ईश्वरको अस्तित्वलाई स्वीकार या अस्वीकार गर्नु व्यक्तिको इच्छा र अधिकारको विषय भए पनि सार्वजनिक जिम्मेवारीमा रहने मानिसले आफ्नो निजी मान्यतामा अड्डी लिएर जिद्दी गर्नु किमार्थ उचित होइन । प्रजातन्त्र भनेको जनताको भावना र चाहनालाई सर्वाधिक महत्व दिने पद्धति र विचार हो । बहुसङ्ख्यक जनताको भावनाको विरुद्ध जाने शासकहरूलाई प्रजातन्त्रसम्मत मानिँदैन ।
ईश्वरको अस्तित्वलाई स्वीकार या अस्वीकार गर्नु व्यक्तिको इच्छा र अधिकारको विषय भए पनि सार्वजनिक जिम्मेवारीमा रहने मानिसले आफ्नो निजी मान्यतामा अड्डी लिएर जिद्दी गर्नु किमार्थ उचित होइन । प्रजातन्त्र भनेको जनताको भावना र चाहनालाई सर्वाधिक महत्व दिने पद्धति र विचार हो । बहुसङ्ख्यक जनताको भावनाको विरुद्ध जाने शासकहरूलाई प्रजातन्त्रसम्मत मानिँदैन । जनभावनासँग खेलबाड नगर्ने शासकहरू इतिहासमा सम्मानित र अमर बनेका छन् भने उपेक्षा गर्नेहरूको नियति प्रिय हुने गर्दैन । भगवान (राजा) रामलाई आफ्नी पत्नी सीताको शुद्धतामाथि रत्तिभर शङ्का थिएन, तर जनस्तरमा सीताका विषयलाई लिएर नकारात्मक चर्चा शुरु भएपछि रामले सीताको अग्निपरीक्षा मात्र लिएनन्, कालान्तरमा परित्याग नै गरेका थिए । आफ्नो भावनालाई दुःखाएर रामले जनभावनाको कदर गरेको उक्त घटनाबाट राजनीतिकर्मीहरूले सिक्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले आफ्नो जीवनको करिव तीन दशक समय कारागारमा बिताए, उनकी पत्नी बिन्नीले लामो प्रतीक्षापश्चात पतिको साथ रहने अवसर प्राप्त गरेकी थिइन् । तर मण्डेला शासनसत्ताको सर्वेसर्वा बनेलगत्तै बिन्नीको क्रियाकलापलाई लिएर जनस्तरमा नकारात्मक चर्चा हुन थाल्यो । त्यसपछि जनभावनालाई ख्याल गरी मण्डेलाले पत्नी बिन्नीसँग सम्बन्धबिच्छेदको निर्णय गरे । बिन्नीप्रतिको आफ्नो भावनालाई भन्दा जनताको भावनालाई दृष्टिगत गरेर मण्डेला उक्त अप्रिय निर्णय लिन पुगेका थिए ।
बीपी कोइराला र गिरिजाप्रसाद कोइराला दुवै नास्तिक थिए । उनीहरू ईश्वर र धर्ममा विश्वास गर्दैनथे । तर आफू प्रधानमन्त्री भएपछि दुवैले ईश्वरकै नाममा शपथ लिएका थिए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको आफ्नो निष्ठा बीपीले जीवनभर जोगाए, उनले प्रजातन्त्र पुनःस्थापनाको मागमा कसैसित कहिल्यै सम्झौता गरेनन् । हिन्दुराष्ट्रको पहिचान मेटेर नेपाललाई धर्मनिरपेक्ष बनाउने क्रियाकलापमा पनि बीपी कहिल्यै लागेनन् । गिरिजाप्रसाद पनि नगद र माओवादीको चङ्गुलमा परेपछि मात्र सुटुक्क धर्मनिरपेक्षता कार्यान्वयनको षडयन्त्रमा सामेल भएका हुन्, तर नास्तिक गिरिजाले मुलुकलाई धर्मनिरपेक्ष तुल्याउने कार्यको जिम्मेवारी लिन चाहेनन् । बरु निर्लज्जतापूर्वक सार्वजनिक अभिव्यक्ति दिए- ‘धर्मनिरपेक्षताको कुरा त मलाई थाहै भएन !’
गिरिजाले त्यसरी ‘स्केप’ हुन (उम्कन) खोज्नुको एउटै कारण थियो- बहुसङ्ख्यक जनताको भावना । कथित संविधान निर्माणका क्रममा लाखौँ नागरिकले नेपाललाई हिन्दूराष्ट्रका रूपमा राख्न दिएको सुझावलाई सबै प्रकारका वामपन्थी-माओवादीहरूले शतप्रतिशत उपेक्षा गरे । जनताका नाममा बनाएको भनिएको संविधान (२०७२) ले जनस्तरमा जनभावनाको उपेक्षा र अपमान ग¥यो, त्यही स्तरको व्यवहार राजनीतिकर्मीहरूबाट प्रस्तुत हुँदा जनताले राज्य र राजनीतिसँग आफ्नो दूरी थप बढ्दै गएको महसूस गरेका छन् । धर्म र ईश्वर नकार्नेहरूले बुझ्नुपर्ने सत्य के हो भने ईश्वरप्रतिको आस्था र विश्वासबाट आममानिसलाई विमुख गर्न कदापि सकिँदैन । सन् १९१७ मा छलकपटद्वारा सत्ता हत्याएपछि लेनिन र स्टालिन आदि कम्युनिष्ट शासकहरूले बहत्तर वर्षसम्म निरन्तर ईश्वर र धर्मविरोधी शिक्षा दिएका थिए । सोभियत सङ्घमा मार्क्स, लेलिन, भौतिवाद र पेटवादले जति महत्व धर्म र ईश्वरले नपाएको मात्र होइन, ईश्वर र धर्मविरुद्धको शिक्षा र व्यवहार राज्यले निरन्तर प्रवाह गरिरह्यो । सन् १९१७ मा जन्मिएका सोभियत नागरिक भौतिकवाद र अनिश्वरवाद मात्र पढेर सन् १९८९ मा सोभियत सङ्घ तथा कम्युनिष्ट राजको लीला समाप्त हुँदा बहत्तर वर्षको उमेरमा पुगेका थिए । जीवनभरी ईश्वर र धर्मका बारेमा विपरीत विचार सुन्दै आएका ‘सोभियत जनता’ सन् १९८९ मा कम्युनिष्ट सत्ता बिस्थापित भएका दिन लाखौँको सङ्ख्यामा गिर्जाघर पुगे र प्रार्थना गरे । यस घटनाले मानिसबाट ईश्वर र धर्मप्रतिको विश्वास तोड्न नसकिने तथ्यको पुष्टि गरेको छ ।
पूर्वीय सभ्यताभित्र सृष्टि भएका दर्शन र शास्त्रहरूले बितण्डवादका बारेमा उल्लेख गरेका छन् । न्यायदर्शनले बितण्डावादका बारे राम्रो व्याख्या गरेको छ र, चार्वाक दर्शनमा पनि बितण्डावादीका व्यवहारबारे उल्लेख छ । आफूले कुनै बहुमान्य मत अर्थात् विचार बनाउन नसक्नु, तर अन्य स्थापित विचारलाई खण्डन गर्नु या दोषी देखाउनु बितण्डावादको एक मात्र लक्ष्य हुने गर्दछ । बितण्डावादीहरू कुनै स्वतन्त्र र विशिष्ट मतको स्थापना गर्न सक्दैनन्, यिनीहरू ध्वङ्सात्मक स्वभाव चरित्रका हुन्छन् भन्ने शास्त्रले ब्याख्या गरेको छ । मार्क्सको उदयपश्चात कम्युनिष्टहरूले बितण्डावादलाई बुझेर या नबुझेर अनुशरण गर्दै आएका छन्, ध्वङ्सात्मक ब्यवहार बितण्डावादीहरूको मूख्य विशेषता हो । राज्य सञ्चालनको जिम्मेवारी प्राप्त गरिसकेपछि पनि स्टालिन, माओ र पोलपोटहरूले बितण्डावादी व्यवहार दर्शाएका हुन् र, नेपालमा पनि एकथरी कम्युनिष्ट सम्पूर्ण सत्ता नियन्त्रणमा लिँदै बितण्डावादी व्यवहार प्रस्तुत गर्न अग्रसर भएका थिए । तर अर्काथरी कम्युनिष्ट नेता र कार्यकर्ताबाट जनताले माओवादीको जस्तै बितण्डावादी व्यवहार प्रस्तुत नहुने विश्वास गरेका थिए । ईश्वरको नाममा शपथ नलिए पनि ईश्वर क्रोधित हुँदैनन्, ईश्वर निरपेक्ष छन् । तर ईश्वर र धर्ममा आस्था र विश्वास राख्ने लाखौँ लाख नेपालीको मन ईश्वरप्रतिको अपमान र उपेक्षाले दुःखाएको छ । आस्तिकहरू धर्म, अर्थ, काम र मोक्षलाई पुरुषार्थका रूपमा बुझ्ने गर्दछन् भने नास्तिकहरू विषयाशक्ति (काम) लाई मात्र पुरुषार्थ ठान्दछन् । त्यसैले पाप, अधर्म, अनेकता, विध्वङ्श र दैहिक सुखमा रमाउनेहरू भन्दा अध्यात्म, धर्म र ईश्वरमा आस्था राख्नेहरू नै उत्तम कोटिका मानिस हुन सक्छन् । उत्तम मानिसको मन दुःखाउने राज्यप्रणालीको औचित्यमाथि प्रश्न उठ्ने क्रम अब अरु बढेर जाने सम्भावना छ ।
पूर्वीय दर्शनमा ईश्वरप्रतिको बुझाई भिन्न-भिन्न छन् । धेरैले आकारलाई ईश्वरका रूपमा बुझ्ने गरेका छन् भने कैयन मानिस निराकार ईश्वरमा विश्वास राख्छन् । संस्कृतम ‘ई’ स्वरलाई कहिल्यै नास नहुने स्वरमा मानिन्छ । पूर्वीय दर्शनमा कुनैले अविनासी परमाणुलाई सृष्टिको आधार मानेको छ भने कसैले स्थायी ज्योतिरूप र कसैले चेतन तत्वलाई सृष्टिको कारणका रूपमा ब्याख्या गरेका छन् । मार्क्सले देखेजस्तो खम्बामा किला ठोकेर झुण्ड्याइने भगवान या ईश्वरको परिकल्पना सनातनी सभ्यताले गरेको छैन । आत्मा, परमात्मा, ज्योतिरूप, परमाणु, ब्रह्म या परब्रह्म जुनसुकै तत्वलाई सृष्टिको कारण मानेको भए पनि त्यो अन्तिम तत्व अनि सूक्ष्म, अखण्डित र अविनासी हुने मत सनातनी सभ्यतामा उत्पन्न सबैजसो दर्शनहरूले राखेका छन् । त्यस्ता अविनासी र अन्तिम तत्वलाई साक्षी राखेर शपथ लिन कम्युनिष्टहरूले पनि डराउनुपर्ने कारण थिएन, छैन, तर कम्युनिष्टहरू ईश्वरसँग किन भयभित रहन्छन् ? उनीहरू ईश्वरतत्वलाई उपेक्षा गर्दा किन गौरवबोध गर्छन् र, जनताको नाममा राजनीति गर्दै जनभावनाविरुद्ध उत्ताउलिएर प्रस्तुत हुन किन खोज्छन् ? यसको अन्तर्य बुझियो भने कम्युनिष्टहरू प्रजातन्त्रवादी नभएको, शिद्धान्ततः राष्ट्रवादी र देशभक्त पनि नहुने, सबै मानिस समान भएको नारा लगाउँदै जाति, भाषा र धर्मका नाममा विभाजन ल्याउन हरदम अग्रसर रहने र सत्यसँग सामना गर्न नखोज्ने, सत्तालाई मात्र जीवनको अन्तिम र एक मात्र लक्ष्य बनाउने प्रकारका किन हुन्छन् भन्ने स्पष्ट हुन्छ ।
पूर्वीय मान्यतामा ईश्वर सृष्टिका अविच्छिन्न र अविनासी कारण हुन् । जगत सृष्टिका मूल आधारलाई साक्षी मानेर शपथ नलिनु भनेको सत्यसँग डराउनु हो । पश्चिमी मान्यताका ‘गड’ र ‘डिभाइन’ भन्दा हामीले ‘फेला पारेको’ ईश्वर भिन्न हुन् । पूर्वीय दर्शन तर्क, तथ्य र विज्ञानसम्मत छ र, ईश्वरको अवधारणा पनि पश्चिमाहरूले बनाएको भन्दा नितान्त भिन्न छ । पोपहरूले ईश्वरका नाममा के-के गरे र, त्यहाँ ईश्वरको बदनामी किन भयो भन्ने विषयमा छलफल गर्न सकिएला, तर पश्चिमाहरूले फरक धारणा बनाए भन्दैमा नेपालमा ईश्वरसँग टाढिनुपर्ने या वैरभाव राख्नुपर्ने कुनै कारण देखिँदैन । ईश्वरसँग डराउने या ईश्वरको उपेक्षा गर्नेहरूले सत्य र निष्ठाका साथ काम गर्न सक्नेमा पनि शङ्का गरिन्छ ।-(घटना र विचारमा प्रकाशित त्रिपाठीको विचार)