काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतको अन्तरिम आदेशले स्वतः गृहमन्त्रीबाट पदमुक्त भएका नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई झड्का परेको छ । उनी राष्ट्रिय सभा सदस्यको बागमती प्रदेशतर्फको सदस्यको उपनिर्वाचनमा एमाले उम्मदेवारका रुपमा हेटौंडामा छन् ।
काठमाडौंबाट हेटौंडा पुग्दासम्म गृहमन्त्री रहेका बादल उतै रहँदा भूतपूर्व भएका छन् । चुनावमा उनको जीत या हार के हुने चासो बढिरहँदा त्यसलाई ओझेलमा पार्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैरसांसदको दोस्रोपटक मन्त्रीमा नियुक्तिलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशमार्फत् बदर गरिदिएको छ ।
अब बादलले पुनः मन्त्री बन्न राष्ट्रिय सभाको निर्वाचन जित्नुपर्ने वाध्यात्मक अवस्था हुन्छ । चुनावमा पराजित भएमा उनी फेरि मन्त्री बन्ने सम्भावना सांसद नबनेसम्मका लागि पूर्णविराम लाग्नेछ ।
यसैगरी, हेटौंडामा भएको चुनावमा बादल र खिमलाल देवकोटाबीच निकै प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । नेकपा एमालेका तर्फबाट मतदान गर्न पाउने जनप्रतिनिधि सबैले बादललाई मतदान गर्ने उनको जीतको सम्भावना बलियो हुन्छ । माधव नेपाल समूहका मतदाताले मत नदिए जीत निकै कठिन हुनसक्छ ।-फाइल तस्बिर