काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि गरेको आहवान सम्बन्धमा सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भर्खरै सम्पन्न पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले विभिन्न विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । ‘संविधानको रक्षा मूल उद्देश्यसहित कुन बाटो अख्तियार गर्नुपर्छ, अन्य दलसँग सबै विकल्पमा छलफल गर्छौं,’ बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन् ।
महतले वैकल्पिक सरकारको नेतृत्वसहित सबै विकल्पमा छलफल हुने जनाए । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गर्ने प्रयोजनका लागि विज्ञप्ती जारी गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
राष्ट्रपतिले आज वेलुकी ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समयावधि दिएकी छन् ।