काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव देखि महाभियोगसम्मको विकल्पमा जानसक्ने निष्कर्ष निकाल्दै विभिन्न दलका नेतासँग छलफल बढाउने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विभिन्न विकल्पहरुबारे छलफल गरेको हो ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने विषयबारे समेत छलफल भएको सहभागी एक नेताले बताए । ती नेताका अनुसार राष्ट्रपति भण्डारीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भएको छ ।
एकसाथ महाभियोग र अविश्वासको प्रस्ताव ल्याएर ओलीको प्रतिनिधि सभा विघटन गरी आफ्नै नेतृत्वमा चुनावी सरकार बनाउने रणनीतिलाई विफल पार्ने काँग्रेसले तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसबारे काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल सुरु गरिसकेका छन् ।
बहुमत सांसदको हस्ताक्षर पुर्याएर राष्ट्रपति भण्डारी कहाँ लगेपनि विफल बनाउने खेल हुनसक्ने निष्कर्ष समेत काँग्रेसले निकालेको बुझिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको उदाहरण दिदै नेताहरुले आक्रामक रुपमा एकसाथ प्रस्तुत हुनुपर्ने सुझाव देउवालाई दिएका छन् । उनीहरुले देउवालाई अब निकै आक्रामक बन्न समेत भने ।
विश्वस्त स्रोतका अनुसार नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संविधान नै ध्वस्त पार्ने खेल भएकाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध कठोर निर्णयका साथ बढ्नुपर्ने सुझाव दिएका थिए । नेताहरुले गर या मरको अवस्थाबारे समेत देउवालाई जानकारी गराए ।