Logo

राष्ट्रपतिविरुद्ध महाभियोगबारे संविधानमा के छ



काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्तावको तयारी भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र महाभियोगको तयारीमा जुटेका हुन् । त्यसका लाग काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् ।

प्रचण्डले राष्ट्रपतिलाई महाभियोग लगाउने सम्भावना रहेको बताइसकेका छन् । उनी त्यसकै पक्षमा छन् । राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि काँग्रेस र माओवादीले गरेका छन् ।

संविधानको धारा १०१ मा महाभियोगबारे उल्लेख छ । धारा १०१ को उपधारा १ मा संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । तर, त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा पदबाट मुक्त हुने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि राजीनामा नदिएको अवस्थामै राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हानका लागि २१ घन्टाको समयमात्र दिई सूचना जारी गरेपछि महाभियोगसम्मको तयारी भएको हो । यो तयारीसँगै सत्ता संघर्ष रोचक मोडमा पुगेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्