काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको भाग्य र भविष्यमाथि खेलबाड गरेको टिप्पणी गरेका छन् । प्रधामन्त्री र राष्टपतिले संविधान नै ध्वस्त पार्ने काम भएको उनको भनाई छ । उनले प्रतिकुल समयमा संसद् भंग गर्ने काम गरिएको भन्दै आपत्ति जनाए ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसद विघटन गरेर चुनाव घोषणा गरेको विषयमा पार्टीले कानूनी लडाई र राजनीतिक लडाई लड्ने बताए । देशको अवस्था अत्यन्तै खराब रहेको र कोरोना महामारीले जनता आघातमा रहेको सुनाउँदै यस्तो बेलामा चुनाव गर्न खोज्नु गलत उद्देश्य रहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले हिजो दिउँसो २ बजेसम्म पनि आफूसँग बहुमत नरहेको दाबी गरेको तर दिउँसो ३ बजे कहाँबाट बहुमत आयो ? भन्दै पौडेलले प्रश्न गरे ।