काठमाडौं, ८ जेठ । विघटित प्रतिनिधि सभा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि सबैभन्दा फाप्यो । प्रतिनिधि सभाको साँढे ३ वर्षको अवधिभर ओलीको एकछत्र प्रभाव बन्यो । उनी यही प्रतिनिधि सभाको कालमा दुई तिहाईको प्रधानमन्त्री बने । पछि बहुमतमा झरे त्यसपछि अल्पमतमा । दुईपटक एउटै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको किर्तिमान ओलीले नै तोडे ।
साँढे ३ वर्षको प्रतिनिधि सभाको गएको कार्यकालमा ओलीले राजनीतिशास्त्रका लागि अध्ययनको नयाँ विषय नै सृजना गरिदिए । उनले एकपटक राजीनामा दिएर फेरि अल्पमतको प्रधानमन्त्री बन्ने अवसर पाए । एकपटक पनि अविश्वासको प्रस्तावको सामना गर्नुपरेन ।
विघटित प्रतिनिधि सभामा २७५ मध्ये एमालेलाई १२१ स्थानमा चुनाव जिताउँदा ओली नै अध्यक्ष थिए । त्यसका लागि उनले माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरे । त्यसबाहेक उनको भारतविरोधी सेन्टिमेन्टले पनि काम गरेको थियो । ओलीले २०७२ सालको संविधान निर्माण र त्यसपछि नाकाबन्दीमा दरिलो अडान लिए ।
नाकाबन्दीमा प्रत्यक्ष संलग्न मधेश केन्द्रित दलका नेताको खरो आलोचनामा उत्रिए । जसका कारण उनलाई मधेशमा निषेध गर्ने सम्मको निर्णय ती दलका नेताहरुले गरे ।
प्रधानमन्त्रीका रुपमा उनले कालापानीसहित भूभाग समेटेर नक्शा जारी गराए । यसबाट उनको लोकप्रीयता चुलियो ।
ओलीले २०७४ को चुनावमा आफूलाई राष्ट्रवादीका रुपमा प्रस्तुत गरेर मतदाताको सेन्टिमेन्ट जितेका थिए । उनको मुख्य राजनीतिक अस्त्र नै भारतविरोधी राष्ट्रवाद थियो । त्यसबाहेक माओवादीसँगको गठबन्धनले पनि भूमिका खेलेको थियो ।
अबको चुनावमा ओलीको राजनीतिक अस्त्र के हुने हो ? चासोको विषय बनेको छ । कोरोना भाइरसको महामारीमा ओली सरकार निकै आलोचित भएको छ । अर्कोतर्फ, कुनैबेला भारतविरोधी देखिएका ओलीलाई ‘भारतपरस्त’को आरोपहरु लाग्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई सिधै ‘भारतको टाङमुनी छिरेको’ आरोप लगाइसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि ओलीमाथि ‘भारतभक्त’ बनेको आरोप लगाए । अबको चुनावमा ओलीको ‘राष्ट्रवाद’को मुद्दा चल्ने देखिदैन ।
धेरैको अनुमानमा उनले हिन्दुत्वको मुद्दालाई उठाउन सक्छन् । ओलीले अयोध्यापुरीमा राम मन्दिर निर्माणको थालनी गर्ने देखि पशुपतिमा जलहरी चढाउने सम्मको कदम चालेर यसको संकेत गरे । हिन्दु बाहुल्य मतदातालाई आकर्षित गर्न ओलीले हिन्दुत्वको मुद्दालाई समेत उठाएमा आश्चर्य नमाने हुन्छ । तर, ओलीले हिन्दुराष्ट्रको मुद्दा उठाउने सम्भावना भने कम छ । उनले शपथ लिँदा ईश्वर शब्द उच्चारण गरेनन् । यसले पनि अझै नास्तिक रहेको संकेत गर्दछ । तर, चुनावी अस्त्रका लागि उनले आवश्यक परेर हिन्दुत्वको मुद्दा उठाउन सक्छन् ।
ओलीले विकासका क्षेत्रमा धरहरा निर्माण देखि मेलम्चीको पानी काठमाडौंमा ल्याएको विषयलाई बढी उठाउन सक्छन् । तर, विकासको एजेन्डाले मात्र चुनाव जित्ने परम्परा नेपालमा खासै विकास भइनसकेको विगतको अभ्यासले देखाएको छ ।
चुनावमा ओलीलाई सजिलो छैन । विगतमा माओवादीसँगको गठबन्धनबाट एमालेले प्रत्यक्षतर्फ ८० सिटमा जीत हासिल गरेको थियो । जुन समानुपातिकतर्फ जितेको ४१ को झण्डै दोब्बर हो । त्यतिबेला एमाले पनि एकढिक्का थियो । अब परिस्थिति बदलिइसकेको छ । एमालेसँग माओवादी केन्द्रको चुनावी गठबन्धन असम्भवप्रायः देखिन्छ । एमाले आफै फुटको संघारमा छ ।
ब्यालेटमा पुग्दा ओलीसामु आक्रामक राजनीतिक मुद्दाबाहेक विकल्प छैन । उनले महन्थ ठाकुर समूहको माग सम्बोधनका लागि अध्यादेशहरु ल्याएका छन् । ठाकुर समूहसँग चुनावी गठबन्धनको पहलका रुपमा पनि यसलाई हेरिएको छ । तर, माओवादीसँग गठबन्धन नहुँदा र एमाले एकढिक्का नहुँदा ओलीका लागि चुनाव फलामको च्यूरा चपाउनुसरह हुनसक्छ । त्यसैले उनले आश्चर्यजनक तरिकाले राजनीतिक मुद्दा अगाडि सारेर चुनावमा जाने सम्भावना देखिदैछ ।-फाइल तस्बिर