काठमाडौं, १० जेठ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको बैठकले कठोर निर्णय लिदैछ । कमिटीले एमालेका १४ प्रदेश सभा सांसदलाई पार्टीबाट निष्काशित गर्न लागेको छ । बागमती प्रदेश कमिटीका इञ्चार्ज बादल, प्रमुख आनन्द पोखरेललगायत बसेर कठोर निर्णय लिन लागेका हुन् ।
यसैगरी, बागमती प्रदेश सभा संसदीय बोर्डले १४ जना सांसदलाई स्पष्टिकरण सोधेकोमा आज औपचारिक कारबाहीको निर्णय गर्ने भएको छ । उनीहरुको सांसद पद रिक्त गराउन सिफारिश गर्ने निर्णय हुने बुझिएको छ ।
एमाले बागमती प्रदेशले १४ जनामध्ये प्रत्यक्षतर्फ निर्वाचित अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेलगायतलाई पदमुक्त गर्ने तयारी गरेर स्पष्टिकरण सोधेको थियो । उनीहरुमाथि राष्ट्रिय सभाको उपनिर्वाचनमा कलमलाई मतदान गरेर बादललाई हराएको आरोप छ ।
राष्ट्रियसभाको बागमती प्रदेशतर्फको सिटमा ६ जेठमा उपनिर्वाचन हुँदा एमाले नेता रामबहादुर थापा बादल माधव नेपालनिकट खिमलाल देवकोटासँग पराजित भएपछि कारबाही बढाइएको हो । देवकोटा कलम चिन्ह लिएर उम्मेदवार बनेका थिए । बादल सुर्य चिन्हबाट चुनाव लडेपनि सुर्य चिन्हबाट चुनाव जितेका प्रदेश सभा सांसद र जनप्रतिनिधिहरुले मत नदिएको छर्लङ्ग छ ।
बागमतीमा एमालेको प्रदेश सभामा ५६ सदस्य संख्या रहेकोमा २० भन्दा पनि नेपाल समूहका छन् ।
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्र पाण्डे
३. अरुण नेपाल
४. रचना खड्का
५. कुसुमकुमार कार्की
६. वसुन्धरा हुमागाईँ
७. मुनु सिग्देल
८. इन्द्रमाया गुरुङ
९. कृष्णप्रसाद खनाल
१०. वसन्तप्रसाद मानन्धर
११. शान्तिराम पौडेल
१२. मीना ज्ञवाली
१३. लक्ष्मण लम्साल
१४. पार्वती सिलवाल