काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी पाँच दलका सांसदहरु सर्वोच्च अदालत जाँदैछन् । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका २३ जना सांसदले रिटमा हस्ताक्षर गरेको बुझिएको छ ।
सुरेन्द्र पाण्डे र घनश्याम भुषाल सर्वोच्च अदालतमै पुग्ने जनाईएको छ । योसँगै नेपाल पक्षबाट २५ जनाले हस्ताक्षर गर्ने बुझिएको छ । तर, योगेश भट्टराई र गोकर्ण विष्टले भने नेपालको साथ छोडेको बुझिएको छ । यसअघि देउवाको पक्षमा १४९ जना सांसदले हस्ताक्षर गरेका थिए । तर, राष्टपति विद्यादेवी भण्डारीले देउवाको दाबी नपुगेको ठहर गरेकी थिईन् । प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पनि दाबी गरेका थिए । उनको पनि दाबी नपुगेको राष्टपतिको ठहर थियो ।
नेपाल पक्षबाट हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, डा. भीम बहादुर रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञराज सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । सोमप्रसाद पाण्डे र घनश्याम भुषालले भने अदालतमै पुगेर हस्ताक्षर गर्ने वचन दिएका छन् । उनीहरु अहिले अदालत पुग्दै गरेको पनि एक सांसदले जनाए । पाण्डे र भुषालले पनि हस्ताक्षर गरे भने नेपाल पक्षबाट २५ जना सांस पुग्ने बुझिएको छ ।