Logo

रामकुमारी झाँक्रीको टिप्पणी : ‘संविधान त राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो’



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) बाट निश्काषनमा परेकी नेतृ रामकुमारी झाँक्रीले अवैधानिक कमिटीले आफूहरुलाई कारबाही गर्न नसक्ने दाबी गरेकी छिन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले जनतालाई महामारीमा राखेर सरकारले औषधीदेखि कात्रोसम्ममा भ्रष्टाचार गरेको आरोप लगाईन् ।

उनले भनिन्-“साना आयोजनादेखि ठूला आयोजनासम्ममा सेटिङमा भ्रष्टाचार गरेको छ । ठूला ठूला अपराध र कर्तुत गरेको छ । संविधानको बर्खिलाप गरेको छ । त्यस्ता व्यक्तिहरुलाई, त्यस्ता तत्वहरुलाई कारबाहीको माग गर्दै बाहिर आएका हामीहरुलाई उल्टै कारबाही गर्ने, निहत्था जनतालाई कारबाही गर्ने भनेको त एक हिसाबले भन्ने हो भने हामीलाई एमालेभित्रबाट कारबाही गर्ने भनेको हस्पिटलको इमर्जेन्सीमा अक्सिजन नपाएर, बेड नपाएर छटपटिएका जनतालाई मृत्युदण्डको सजाय सुनाएजस्तै हो । जो चाहीँ आँफै जनताको यस्तो दुःखमा, महामारीमा छटपटाईरहेको छ, के गर्न सकिन्छ भनेर ? लौन आजको प्राथमिकता चाहीँ कुर्सी होईन, सरकार परिवर्तन गर्ने पनि होईन, यी सबै काम थाँती राखेर जनता महामारीमा मरिरहेका छन्, औषधी पाएका छैनन्, खोप पाएका छैनन् । सिटामोल पाईँदैन् । अस्पतालमा बेड पाईँदैन् । अक्सिजन पाईँदैन् । हामीले सहनै नसकेर लौन यो महामारीमा जनतालाई केही गर, जनताको मासु नखाउ भनेर निकालिएको आवाज बन्द गर्न गरिएको कोशिस हो यो अवैधानिक र हावादारीमा गरिएको कारबाहीको केही पनि अर्थ छैन् ।”

उनले अवैधानिक पार्टी र कमिटीले गरेको स्पष्टीकरणको जवाफ दिनुपर्ने कुनै कारण नभएको स्मरण गराईन् । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको स्पष्टीकरणपत्रको जवाफ दिने कुरा नभएको पनि सुनाए । लोकतन्त्र र न्यायको लागि लडेकाहरुलाई यस्तो कारबाहीको कुनै अर्थ नहुने उनको जिकिर छ । पहिलोपटक संसद् पूनःस्थापना हुनेबित्तिकै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्नेपनि उनले स्मरण गराईन् । उनले संविधानको बर्खिलापमा ओलीले फेरि संसद् विघटन गरेको गम्भीर आरोप लगाईन् । उनले भनिन्-“संविधान त यस्तो भयो कि राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो । उहाँहरुले मनोमानी ढंगले च्यातचुत र तोडमरोड गरेर फेरि दोस्रो पटक संविधानमाथिको बलात् आक्रामण र संसद्को विघटनको ठाउँमा पुग्यो र यसलाई चाहीँ हामीले के भनेका छौं भने यो राजनीतिक हिसाबले केपी ओलीले गरेको आफ्नो आत्महत्या हो ।” File Photo/ReprotersNepal



प्रतिक्रिया दिनुहोस्