काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने संकेत गरेका छन् । उनले त्यसको संकेत गर्दै गोलबन्द हुन समेत अपिल गरेका छन् ।
आज विज्ञप्तिमार्फत् नेपालले कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरणको अभिभारा आइपुगेको समेत बताएका छन् । उनले भनेका छन्, अब सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पेको छ ।
एमाले स्थायी कमिटीले निष्काशनको निर्णय गरेको भोलिपल्ट नेपालको अपिल आएको हो । उनले अपिलमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । उनले ओलीमाथि कम्युनिस्ट आन्दोलन बिसर्जन गर्ने पात्रको रुपमा स्थापित भएको आरोप लगाए । उनले भनेका छन्,‘नेपालको कम्युनिस्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिस्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका छन् ।’
ओलीले षड्यन्त्रकारीहरुको उक्साहमा सिंगो नेकपालाई विभाजन गर्ने काम फत्ते गरेको आरोप समेत लगाए ।