Logo

उपेन्द्र-बाबुरामलाई पार्टीबाट निश्काषन गर्ने ठाकुरको घोषणा



काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । पछिल्लो समय एक अध्यक्षले अर्को अध्यक्षलाई स्पष्टीकरण सोध्ने होडबाजी चलिरहेको छ । जेठ ८ गते उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष चार नेतालाई स्पष्टीकरण सोधेको थियो । त्यसको दुई दिनपछि अर्का अध्यक्ष ठाकुरले उपेन्द्र यादवलाई नै उल्टै स्पष्टीकरण सोधे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको नयाँ मिति घोषणा गरेपछि जसपामा प्रधानमन्त्रीको उक्त कदमलाई लिएर पक्ष र विपक्ष देखिएको छ । ठाकुर ओलीको पक्षमा दरो साथ उभिएका छन् भने यादव पक्ष ओलीको कदमविरुद्ध विपक्षी मोर्चामा उभिएको छ । यादव पक्षधर १२ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

यादव कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निश्काषनमा परेका नेता माधव कुमार नेपाल पक्ष र जमोर्चाको विपक्षी गठबन्धनमा छन् । जसपाको सर्वोच्च निकाय कार्यकारिणी समितिमा भने यादव पक्षको बहुमत रहेको छ । पछिल्ला दिन ठाकुर पक्षले सरकारमा जाने तयारी गरेको छ । र, यसको लागि ठाकुर पक्षले यादव पक्षका कार्यकारिणी सदस्यहरुलाई आफूतिर तान्ने प्रयास पनि गरेको थियो । यसको लागि ठाकुर आँफैले अशोक राईसँग छलफल गरेको बुझिएको छ ।

तर, राईले आफू कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई सघाउने र उनको कदम सही हो भन्ने पक्षमा नउभिने जवाफ दिएपछि ठाकुर पक्ष राईनिकट नेताहरुसँग अझैपनि छलफलमा रहेको बुझिएको छ । तर, पार्टीभित्रको विवाद अब कुनैपनि हालतमा मिल्ने दिशामा नभएको शीर्ष नेताहरुले नै टिप्पणी गर्न थालेका छन् । अध्यक्ष ठाकुरले पनि यादवसहित देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही प्रक्रिया अघि बढाउने बताउँछन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठाकुरले पार्टीको नीति, विधानविपरित यादव पक्षले काम गरेकोले अब धेरै सहन नसकिने बरु तत्कालै कारबाही प्रक्रिया अघि बढाउने जनाएका छन् । उनले उपेन्द्र, बाबुराम भट्टराईलगायत १२ जना सांसदलाई नै कारबाही गर्ने संकेत गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्