काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता अध्यादेश आउनु खुशीको कुरा भन्दै यसको सबैले स्वागत गर्नुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नागरिकता अध्यादेश आउँदैमा नेपाल फिजीकरण हुने भनेर गरिएको प्रचारमा टिप्पणी गर्दै भने-“फिजी कहाँ बनिरहेको छ ? पहाडमा बनिरहेको छ कि मधेशमा ? कि फिजीकरण कसले गरिरहेको छ ? हुन त डेमोक्रेसी छ, बोल्ने सबैलाई अधिकार छ । बोल्ने मानिसहरु बोलिरहनुभएको छ, आफ्नो आफ्नो दृष्टिकोण राखिरहनुभएको छ । यो अध्यादेशले त समस्याको समाधान भएको छ ।”
अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको घोषणा गर्नु प्रतिगमन नभएको पनि जिकिर गरेका छन् । उनले भने-“के चुनावको घोषणा गर्नु प्रतिगमन हो त ? जनतामा जाने प्रतिगमन हो त ? जनता सार्वभौम छन् । हेर्नुहोस, संसद् राम्रोसँग चल्न दिईएन । यस्तो अवस्थामा नयाँ जनमतको लागि चुनाव घोषणा गरिएको छ । यसलाई पनि प्रतिगमन भन्ने त ? संसद् विघटन गर्नुलाई हामीले स्वागत गरिसकेका छौं ।”