काठमाडौं, १३ जेठ । कोरोना भाइरसको दोस्रो लहरले शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो धक्का दिएको छ । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुने बखत निषेधाज्ञा जारी हुँदा विद्यालयहरु सधैका लागि बन्द हुन थालेका छन् ।
निजी क्षेत्रका सयौं विद्यालयहरु यो शैक्षिक सत्रबाट बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ । गत वर्ष जेनतेन धानेपछि यो वर्ष नसकिने भएपछि कतिपय विद्यालय बन्द गर्ने निर्णयमा पुगेका हुन् । बन्द हुन लागेकामा काठमाडौंका नाम चलेका विद्यालयहरु पनि छन् । लामो इतिहास बोकेका र सयौंलाई प्रत्यक्ष रोजगारी दिएका विद्यालयहरु बन्द हुनलाग्दा शिक्षक र कर्मचारीको रुवावासी नै चलेको छ ।
असारसम्ममा देशभर सयौं निजी विद्यालय बन्द भएको घोषणा हुने बुझिएको छ । गएको एक वर्ष आधा तथा चौंथाई तलबमै काम गर्न विवश शिक्षक र कर्मचारीहरु कोरोना भाइरसको महामारीबीच विद्यालय बन्द हुनलाग्दा निकै तनावमा परेका छन् ।
हजारौं पीडित गुरुहरुको आँसुले तलाउ नै बन्ने अवस्था आउने खतरा देखिएको छ । दशकौं शिक्षा क्षेत्रमा योगदान गरिसकेकाहरु न पेन्सन न कुनै सामाजिक सुरक्षा । खाली हात भोको पेट घर बस्ने अवस्थामा परेका छन् ।