नारायण घिमिरे : जीवनभरमा मानव हृदय औसत तीन अर्बभन्दा बढी पटक धड्कन्छ। मानिसको कुल तौलको आठ प्रतिशत वजन रगतको हुन्छ। एक वयस्क मानिसको रक्तनलीहरूको सम्पूर्ण लम्बाइले पृथ्वीलाई भूमध्यरेखीय भागबाट चार पटक घेरा गर्न सकिन्छ। मानिसमा बायाँ फोक्सो दाहिनेभन्दा करिब १० प्रतिशत सानो हुने गर्दछ। मानिसले हरेक वर्ष चार किलो हाराहारी छालाका कोषहरू परिवर्तन गर्दछ। विभिन्न प्राणीमा मानिस मात्र यस्तो प्राणी हो जुन लाजले भुतुक्क हुँदा अनुहार रातो पार्दछ।
मानव शरीरले नियमित रूपमा निकै मलिनो प्रकाश छोड्ने गर्दछ जुन मानिसको आँखाले देख्न सक्दैन तर कतिपय प्राणीले देख्न सक्छ। कहिलेकाहीँ हाम्रो मस्तिष्क जागृत रहेको समयमा भन्दा सुतेको बेला धेरै सक्रिय रहने गर्दछ। हाम्रो शरीरभित्रका सूचनाहरू लगभग चार सय किलोमिटर प्रतिघण्टाको गतिमा स्नायुहरूमार्फत सञ्चार हुने गर्दछ।
वैज्ञानिकहरूको अनुमान अनुसार हाम्रो नाकले एक ट्रिलियन विभिन्न सुगन्धहरू पहिचान गर्न सक्दछ। मानिसको दाँत वास्तवमा शार्कको दाँत जत्तिकै बलिष्ठ रहन्छ। जन्मेको एक महिनाको नभएसम्म मानिसले आँखाबाट आँसु बहाउने गर्दैन। हाम्रो मुखले प्रत्येक दिन लगभग एक लिटर र्याल उत्पादन गर्ने गर्दछ। कम्तीमा औसत मानिसको पेटमा ६७ प्रजातिका विभिन्न किसिमका ब्याक्टेरियाहरू हुन्छ।
मानिसको शरीरमा लगभग १० ट्रिलियन मानव कोषहरू रहन्छन्। मानव कोषहरूभन्दा १० गुणा बढी ब्याक्टेरियाहरूले मानिसको शरीरलाई आफ्नो घर बनाएर बाँचिरहेका हुन्छन्। मानिसको शरीर भित्र र बाहिर रहने ती ब्याक्टेरियाहरूले मानिसलाई कुनै हानि-नोक्सानी पुर्याउँदैनन्। बरु केही न केही फाइदाजनक गतिबिधिहरु गरिरहेका हुन्छन्। त्यसको उदाहरणमा हाम्रो पाचन प्रणालीमा हुने ब्याक्टेरियाहरूलाई लिन सकिन्छ, जसलाई गट-माइक्रोबायोम भनिन्छ।
पेटमा हुने गट-माइक्रोबायोमले हाम्रो पाचन प्रक्रियालाई नियन्त्रित रूपमा सुचारु राख्न, प्रतिरक्षा प्रणाली सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। पछिल्लो समयमा आएर गट-माइक्रोवायोमले टी-सेल भनिने इम्युन सेललाई हाम्रो शरीरभित्र पुगेका बाहिरी हानिकारक सेल कसरी पहिचान गर्ने भनी सिकाउने गर्दछ। साथै बाहिरबाट शरीरमा पुगेका हनिकरण सेलहरूको आक्रमणविरुद्ध सुरक्षा कवचको भूमिका खेल्दछ। आन्द्रामा पर्याप्त मात्रामा गट-माइक्रोबायोम नहुँदा अस्वस्थ्यकर जीवाणुहरूले दुंख दिने, तौल बढ्ने, रगतमा चिनीको मात्रा उच्च हुने, कोलेस्ट्रोलको मात्रा बढ्ने र अन्य विकारहरू समेत निम्तिने खतरा हुन्छ।
शरीरमा हुने एपेन्डिक्सलाई लाखौँ वर्ष पहिले प्रयोग हुने तर हाल प्रयोग नरहेकाले आफ्नो कुनै कार्य नभएको अङ्गको रूपमा मानिसले लिने गर्दथे । कहिलेकाहीँ जब एपेन्डिक्स सङ्क्रमित हुन्छ, तब यसको काम नरहेको भनी काटेर फाल्ने चलन सामान्य बनेको छ। हालसालै पत्ता लगाइएको तथ्य अनुरूप एपेन्डिक्स हाम्रो पाचन प्रणाली सञ्चालन गर्न तथा पाचन प्रक्रिया र मस्तिष्कबीच उचित संयोजन गर्न सहयोग गर्ने लाभदायक गट-माइक्रोबायोमको मुख्य सुरक्षा कवच रहेको यथार्थ बाहिरिएको छ।
हाम्रो आन्द्रामा हुने हामीलाई लाभदायक हुने ब्याक्टेरियाहरुले आन्द्रामा आफूलाई कतिपय अवस्थामा आइलाग्ने प्रतिकूल वातावरणबाट लुक्न, तनावबाट राहत पाउनका लागि आराम गर्न एपेन्डिक्सको उपयोग गर्ने गर्दछ। एपेन्डिक्समा आफू उपयुक्त वातावरण पैदा गरी आन्द्रामा जरुरत अनुरूपको वेक्टेरियाहरुको सङ्ख्या कायम गर्न सन्तान उत्पादन कार्यमा समेत एपेन्डिक्सको उपयोगमा आउने गर्दछ। तसर्थ एपेन्डिक्स आफ्नो परिशिष्ट व्यवहारका लागि मानव जरुरतको अङ्ग रहेको प्रमाणित बनेको छ।
सामान्य रूपमा बताउँदा मनमनै गरिने संवादमार्फत अर्काको मनको कुरा वा सोच थाहा पाउने वा अर्काको दिमाग पढ्न सक्ने तरिकालाई टेलिप्याथी भनिन्छ। त्यस्तै पूर्व-सूचनाको आधारमा भविष्यमा हुने घटना बारे निश्चितताका साथ अनुमान गर्न सक्ने क्षमता अतिरिक्त सेन-सरी क्षमताको एक रुप हो। यथार्थमा हाम्रो छैटौँ इन्द्रिय अथवा हाम्रो मनको अनुभूति वा गट्स-फिललाई अतिरिक्त सेन-सरी क्षमताको रूपमा हामी बुझ्ने गर्दछौं। तपाईँले महसुस गर्ने एक अनुभूति जसको आधारमा तपाइले गरेका भविष्यबारेका अन्दाज सत्य बन्न पुग्छ, त्यो तपाईंको अतिरिक्त सेन-सरी क्षमता हो।
हाम्रो सामान्य मान्यता के हो भने मानिसको पाँच वटा इन्द्रिय रहेकाले हाम्रो वातावरण वरपर के भइरहेको छ, तिनै इन्द्रियहरूबाट हामीले जानकारी प्राप्त गर्दछौं। यथार्थमा हामीसँग पाँचवटाभन्दा धेरै इन्द्रियहरू रहने गर्दछन्। जसलाई अत्यन्त सरल उदाहरणहरूबाट अनुभूति गर्न सकिन्छ। यदि तपाईंले तातेको फलामको केही सेन्टिमिटर टाढा हात राख्नुभयो भने कुनै पनि इन्द्रियले पोलछ भनी खबर गर्न सक्दैनन् । तैपनि टाढाबाट नै तपाईंले फलाम तातो रहेको महसुस गर्न सक्नुहुन्छ। पोल्छ भन्ने जानेर तातो फलामलाई तपाईं छुने गर्नुहुन्न।
छालालाई छोइएको संवेदना शरीरमा दर्ज गर्ने इन्द्रियको रूपमा लिइन्छ। तर हामीले बुझे अनुरूपको पाँच वटा इन्द्रियको अलावा छालामा हुने तातो सेन्सर गर्ने वा महसुस गर्ने अतिरिक्त इन्द्रिय गत गुणका कारण हामी तातोपनको महसुस गर्न सक्छौं। हुन त हामीलाई लाग्न सक्छ, त्यहाँ तातो हावाको प्रवाहका कारण छालाले तातोपन महसुस गर्यो। त्यो केही हदमा ठिक समेत होला। तर त्यसले पोल्दछ भन्ने अनुभूति गर्न हाम्रो अनुभव र स्मरणको जरुरी हुन्छ। जुन हामीले बुझेको पाँच इन्द्रियअन्तर्गत रहेका छैनन्। जसलाई चेतना भनिने गर्दछ।
यसलाई प्रस्टाउन अर्को उदाहरण हेरौँ। तपाईं आँखा बन्द गर्नुहोस् र आफ्नो नाक छुन प्रयास गर्नुस्। सजिलै छुन सक्नुहुन्छ। तपाईंको नाक कहाँ छ भनेर पत्ता लगाउन पाँचै इन्द्रिय (नाक– गन्ध, कान– श्रवण, आँखा– दृष्टि, छाला-छुवाई, जिब्रो-स्वाद) प्रयोग गरिरहनुभएको हुँदैन।
यथार्थमा तपाईंमा अन्तरनिहित शरीरको निश्चित अङ्ग कहाँ छ र तपाइको अङ्ग कसरी चलिरहेको छ भन्ने वारेको बोध वा चेतनाका कारण यो सम्भव बनिरहेको हुन्छ। यसलाई तपाईंमा अन्तर्निहित मेटा-सेन्स मानिन्छ। यहाँ तपाईंको मस्तिष्कले आफ्नो मेटा-सेन्सको संयोजन गरेर तपाईँको शरीरको कुन भाग कहाँ छ भन्ने आफ्नो अनुभवका साथ पत्ता लगाउने गर्दछ। तपाईं आफ्ना आधारभूत पाँच इन्द्रियहरू प्रयोग नगरीकनै आफ्नो कान वा अन्य भाग समेत आँखा चिम्लेर छुन सक्नुहुन्छ। यसले हामीलाई हाम्रो शरीरले मात्र पाँच इन्द्रियहरुमा सीमित नरहेर अन्य सेन्सर-पद्धतिको समेत उपयोग गरी आफ्नो दैनिक गतिविधि चलाइरहेको यकिन गर्न सहयोग पुर्याउँदछ।
शरीरका पाँच इन्द्रियका अलावा अन्य सेन्सर समेत रहने सामान्य रूपमा अनुभूति गर्न सकिने कुराहरू हुन्। यसलाई जब विज्ञानले अध्ययन गरी केही सत्य तथ्य बाहिर ल्यायो, त्यसपछि मात्र हाम्रो ध्यान यसतर्फ पनि पुग्न सकेको छ। जुन हाम्रो वेदान्तका चुरो दर्शनहरू हुन्।
कुनै पनि व्यवसायको ठूलो सफलतामा उक्त व्यवसायको प्रबन्धकहरूको निकै अहम् भूमिका रहन्छ। ती प्रबन्धकहरू जसले कम्पनीको उद्देश्यहरूलाई पूरा गर्न समयमै कम लागतमा प्रभावकारी निर्णय लिन सक्छन् । तिनीहरूको भूमिकाले प्रगतिमा निकै ठूलो प्रभाव छाडेको भेटिन्छ। अनुसन्धानहरुले पुष्टि गरे अनुरूप निर्णय लिँदा व्यवसायको उद्देश्यप्राप्तिलाई मुख्य प्राथमिकता राखेर तर्कसङ्गत र व्यवस्थितका नाममा कार्य सम्पादनको फगत प्राविधिक तरिका अँगाल्ने सैद्धान्तिक पाराका प्रबन्धकहरूको सफलताभन्दा अन्तर्ज्ञानको प्रक्रियाहरूको माध्यमबाट कतिपय आफूले नबुझेका विषयवस्तुमा आफ्नो हैन, संस्थागत स्मरणमा रहेका परम्परागत अनुभव र विश्वासलाई महत्त्व दिएर निर्णय लिने व्यवस्थापकहरू हमेसा सफल बनेको भेटिन्छ।
संस्थागत स्मरणमा विश्वास राख्ने प्रबन्धकहरू कुनै चीजहरू कालान्तरदेखि आफूले कारण नबुझिएको तरिकाबाट नियमित सञ्चालनमा छ, त्यसरी सञ्चालन हुने क्रममा कुनै व्यवधान रहेको भेटिन्न, त्यो भन्दा भरपर्दो र व्यावहारिक रूपमै असल रहेको प्रमाणित अर्को विकल्प समेत देखिरहेका छैनन् भने फगत सैद्धान्तिक परीक्षण नभएका आफ्ना ज्ञानलाई उपयोगी भ्यालु-एड हुने ज्ञानको रूपमा हत्तपत्त स्विकार्न तयार हुँदैनन्। तसर्थ सफल समेत बन्दछन्।
अनुसन्धानहरुबाट व्यवस्थापकहरूको निर्णय क्षमतामा उनीहरूमा रहेको अतिरिक्त इन्द्रियगत अनुभूतिको क्षमताको निकै ठूलो भूमिका रहेको भेटिएको छ। सफल व्यवस्थापकले आफ्नो निर्णयलाई प्रभावकारी बनाउन अतिरिक्त इन्द्रियगत अनुभूति क्षमताको कस्तो भूमिका रहन्छ ? स्पष्टता, सृजनात्मकता, शुद्धता र त्रुटिरहित निर्णय क्षमताका लागि कार्यकारीहरूको अतिरिक्त इन्द्रियगत अनुभूति क्षमता स्कोर निकै उच्च रहेको देखायो। जबकि प्रभावशाली निर्णय गर्न असफल एकतिहाइ व्यवस्थापकमाजनशीलताको स्कोर निकै कम भेटिएको थियो।