काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भैरहेको टिप्पणी गरेका छन् । उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लखे गरेका छन् । तर, अहिले विराधीहरुले गणतन्त्रका मूल्य र मान्यतामािथ प्रहार गरेको भन्दै दाहालले चिन्ता व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो बताएका हुन् ।
उनले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने पनि जिकिर गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्-“नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।”