काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘भारतका प्रीय’ भन्न थालिएको छ । नेपालका लागि राजदूत भइसकेका भारतका पूर्व कूटनीतिज्ञहरुले नै यस्तो शब्दको प्रयोग गर्न थालेका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एकपछि अर्को प्रयास विफल हुनुमा पनि भारतकै साथको विषय उठेको छ । नेपालका लागि राजदूत भइसकेका श्यामशरण, रणजीत रेलगायतले ओलीलाई भारतले साथ दिएको लेखेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई भारतले साथ दिएको भन्दै कडा लेख लेखेका छन् । द हिन्दुमा प्रकाशित उनको लेखले तरंग ल्याएको छ । भाजपा उनीसँग रुष्ट भएको सन्देश प्रवाह भइसकेको छ । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भट्टराईलाई अझै जेएनयूकै कल्पनामा मग्न भएको टिप्पणी गर्दै आलोचना गरे ।
पछिल्लो समय राकेश सुद देखि मञ्जिव सिंह पुरीले पनि लेखहरुमार्फत् ओलीप्रति भारतले देखाएको साथप्रति असन्तुष्टि देखाइरहेका छन् ।
आखिर ओलीमाथि दक्षिणबाट पूर्वराजदूतहरुको प्रहार किन ? त्यो पनि नेपालका लागि राजदूत भइसकेकाहरुबाट ।
श्यामशरण १२ बुँदे समझदारीका मुख्य योजनाकार हुन् । यसको जस उनले लिदै आएका छन् । पछिल्लो समय उनलाई १२ बुँदेको जगमा निर्माण भएको गणतन्त्र र धर्मनीरपेक्षता खतरामा परेकोमा निकै पीर परेको छ । श्यामशरणलाई भारतको सत्तारुढ भाजपाले रुचाएको छैन । उनका लेखहरु भाजपा नेपाल नीतिमा असफल हुनलागेको आशयको आउने गरेको छ ।
रणजीत रे पनि ओलीप्रति विगत देखि नै सन्तुष्ट छैनन् । संविधान जारी हुँदा रणजीत रेप्रति ओलीले कडा टिप्पणी सामुन्ने नै गरेका थिए ।
अर्कोतर्फ, गणतन्त्र र धर्मनीरपेक्षता हटाउन ओली लागेको भन्ने चर्चा भारतमा व्यापक चलाइएको छ । यसरी चलाउनेमा पूर्वमाओवादी नेता देखि नेपालका लागि भारतका केही पूर्वराजदूतहरु पनि छन् । ओली नरुचाएकाहरुले निरन्तर लेखमार्फत् प्रहार गरिरहेका छन् । जो जो ओलीमाथि प्रहार गरिरहेका छन् उनीहरु भारतको सत्तापक्षबाट टाढा छन् । सत्तापक्षसँग नजिकहरु ओलीलाई भित्र भित्र साथ दिइरहेको धेरैको बुझाई छ ।-फाइल तस्बिर