Logo

एमाले एकताका लागि ओलीको लचकता कि विरोधीमाथि अस्त्र ?



काठमाडौं, १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्न नदिन लचिलो हुने सन्देश विश्वासपात्रहरुमार्फत् माधव नेपालसम्म पठाएका छन् । उनले शर्तसहित २ जेठ २०७५ मा पार्टीको सांगठनिक संरचनालाई फर्काउनसक्ने प्रस्ताव पठाएका हुन् ।

ओलीको पछिल्लो प्रयासलाई उनी पार्टी एकताका लागि लचिलो बनेको सन्देश एमालेवृत्तमा गएको छ । तर, माधव नेपाल समूहले यसलाई उनको अर्को राजनीतिक अस्त्रका रुपमा बुझेको छ । ओलीले विगतमा पनि कारबाही फुकुवा गर्ने र फेरि त्योभन्दा कडा कदम चालेर विरोधीलाई तह लगाउने गर्दै आएका छन् । यसबाट नेपाल समूह सतर्क रहँदै आएको छ ।

नेपालले ओलीविरोधी गठबन्धनमा सहभागिता जनाइसकेका छन् । उनी काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा छन् । नेपाललाई गठबन्धनबाट अलग गर्न ओलीले आज स्थायी कमिटी बैठकबाट महत्वपूर्ण निर्णय समेत गर्न सक्छन् । त्यो निर्णयमा एमालेलाई पुरानै अवस्थामा फर्काउने सम्मको हुन सक्छ ।

ओलीले यो अस्त्र फालेमा नेपाल समस्यामा पर्न सक्छन् । उनी फेरि गठबन्धन छाडेर एमालेमै रहने वाध्यात्मक अवस्थामा पर्ने सम्भावना हुनसक्छ ।

विरोधीलाई एक तीरबाट तीन शिकार बनाउन सिपालु बनेका ओलीले आज महत्वपूर्ण निर्णय लिने सम्भावना हुनसक्छ । तर, नेपाल पक्षले ओलीको कदमलाई स्वागत गरेर फेरि एमालेमा लागिहाल्ने सम्भावना कमजोर छ । उनी धेरै अगाडि बढिसकेका छन् । नेपालले आफ्ना विश्वासपात्रहरुमार्फत् ब्याक नहुने सन्देश दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्