Logo

‘विरोधी गठबन्धन’ फुटाउन ओलीको अस्त्र



काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । विरोधीहरु एकजुट भएर घेराबन्दीमा परेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

ओलीविरुद्ध देशका पाँच पूर्वप्रधानमन्त्रीहरु एकजुट भएका छन् । पूर्वप्रधानमन्त्रीहरुमध्ये शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति छन् भने पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रको अध्यक्ष छन् । माधवकुमार नेपाल र झलनाथ खनालले एमालेको फरक समूहको नेतृत्व गरिरहेका छन् । डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वउपप्रधानमन्त्री हुन् । यसरी ओली बलियो शक्तिको एकताबाट बढ्दो प्रहारको सामना गरिरहेका छन् ।

पछिल्लो समय ओली विरोधी समूहको एकताले कमजोर भएको घटनाक्रमले देखाइरहेको छ । त्यसैले उनले जसपाको महन्थ ठाकुर समूहको भविष्यसम्मको साथ खोजिरहेका छन् । ठाकुर समूहले ओलीलाई अहिले साथ दिइरहेको छ । चुनाव हुने निश्चित भएमा गठबन्धन बनाएर जाने तयारीमा छन् । उनको रोजाईमा ठाकुर समूह र राप्रपाका अध्यक्ष कमल थापा देखिएका छन् । एमालेलाई सकेसम्म एकतावद्ध बनाउने नभए माधव नेपाल समूहका हस्तीहरुलाई आफ्नै समूहमा ल्याउने ओलीको रणनीति देखिन्छ ।

ओलीले माधव नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलाई महत्वपूर्ण जिम्मेवारी दिएर साथमा ल्याउन खोजिरहेका छन् । उनीहरु सांगठनिक पकड बनाएका नेता हुन् । तीन नेतालाई साथमा ल्याएमा नेपाल समूह कमजोर हुने बुझाई ओलीपक्षको छ ।

विपक्षी गठबन्धन फुटाउन ओलीले माधव नेपाललाई पार्टी एकताको नयाँ कार्ड फाल्ने तयारी गरिसकेका छन् । त्यसका लागि एमाले स्थायी कमिटी बैठकले नयाँ निर्णय लिनसक्छ । २ जेठ २०७५ मा एमालेको सांगठनिक संरचनालाई फर्काउने उनको तयारी पनि भएको बुझिएको छ । तर, नेपालले यसलाई कार्ड मात्र देखेका छन् । उनले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिने शर्त राखेका छन् ।

चुनाव भइहालेमा फलामको च्युरो चपाउनुसरह हुने ओलीले बुझिसकेका छन् । राष्ट्रिय सभा निर्वाचनमा विपक्षी एक हुँदा बहुमत हुँदाहुँदै एमाले उम्मदेवार बादल पराजित भए । लुम्बिनीमा पनि एमालेको मत क्रस भयो । यसैलाई मध्यनजर गरी ओलीले विरोधी गठबन्धन फुटाउने नयाँ अस्त्र फाल्न सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्