काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का माधव नेपाल समूहका नेता जगन्नाथ खतिवडाले आफूहरुले पार्टी एकताको लागि वार्ताको लागि बटमलाईन रहेको भन्दै त्यो अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले केपी ओली प्रवृत्तिको विरुद्धमा विद्रोह गर्न युवाहरुको ठूलो जमात रहेको पनि बताए ।
उनले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने पनि आफूहरुको शर्त रहेको पनि बताए । उनले ओलीलाई नियन्त्रण र लगाम लगाउन जरुरी रहेको पनि सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले माधव नेपाल, झलनाथ खनालसहितका नेताहरुलाई गरेको कारबाही फिर्ता लिनुपर्ने पनि आफूहरुको अर्को शर्त रहेको सुनाए ।
उनले ओलीले कारबाहीलाई फिर्ता गर्नुपर्ने, अपमानजनक बोली, बचन पनि बन्द गर्नुपर्ने पनि बताए । तर, अब अल्झाउने र अलमल्याउने कुरा गरेर नबस्नपनि अध्यक्ष ओलीलाई खतिवडाले चेतावनी दिएका छन् । उनले अध्यक्ष ओलीले एमालेलाई आफ्नो पोल्टामा हाल्ने काम गरे आफूहरु अर्को पार्टी बनाउन तयार रहेको पनि उद्घोष गरे ।
उनले नयाँ पार्टी गठनको लागि आफूहरुलाई कुनै समस्या नरहेको भन्दै यसको लागि त दुई दिनमात्रै समय लाग्ने सुनाए । अहिले जारी आफूहरुको पक्षको बैठकमा वार्ताको लागि तयार हुने तर केही शर्तहरु पूरा नगरी वार्ता गर्न नहुने निश्कर्ष रहेको पनि खतिवडाले जानकारी दिए । file photo