Logo

सर्वोच्चको फूलकोर्ट बैठकको निष्कर्षसँगै संवैधानिक इजलासमा यस्तो हुनसक्छ



काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतको फूलकोर्टको भर्चुअल बैठकले संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधन गर्नुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा गठित संवैधानिक इजलासमा वरिष्ठता मिचिएको विषय उठेपछि फूलकोर्ट बैठक बसेर यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा गठित इजलासमा अब के हुने हो ? चासो बढेको छ । मङ्गलबार इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र अर्का न्यायाधीश आनन्दमोहन भट्टराईले इजलास नै छाडेका थिए । तर, प्रश्न उठाइएका तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट अलग हुनुपर्ने कारण नभएको जवाफ दिएपछि अब इजलास फेरि तोकिने हो या पुरानैमा संशोधन हुने हो चासो बढेको हो ।

न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुन चाहेमा वरिष्ठताका आधारमा अरु न्यायाधीश तोकिने सम्भावना छ । त्यतिबेला मीरा खड्का, इश्वरीप्रसाद खतिवडा, अनिलकुमार सिन्हामध्येबाट तोकिने सम्भावना रहन्छ । इजलासमा फेरि संशोधनमा गएमा वरियताका आधारमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठको नाम पर्छ ।

हरिकृष्ण कार्की केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्याधिवक्ता भएकाले प्रश्न उठ्न सक्छ । विश्वम्भरप्रसाद श्रेष्ठ या ईश्वरप्रसाद खतिवडाको प्रवेश हुन सक्छ । तर, प्रधानन्यायाधीश जबरा इजलासलाई कायमै राख्ने पक्षमा रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्