Logo

खाद्यान्नमा २० प्रतिशत छुट



खलङ्गा,२२ जेठ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले निषेधाज्ञा अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय गरेअनुसार उल्लेखित छुट तथा सहुलियतको कार्यान्वयन शुरु भएको छ ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा खाद्यान्नमा २० प्रतिशत छुट रकम कार्यान्वयनमा ल्याएको शाखा प्रमुख तिलक सुनारले बताए । उनले भने,“सहुलियत दरमा उपलब्ध गराइएको खाद्यान्न सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण र प्रतिपरिवार एक बोरा चामल मात्र उपलब्ध हुने शाखा प्रमुख सुनारले बताए ।”

छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा पाँच जनाको परिवारलाई एक एकाइ मानी सहुलियत सामग्री पहिलोपटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र दुई केजी सिमीको दाल सहुलियतमा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङबाट दुई केजी पिठो, दुई केजी चिनी, दुई केजी नुन, एक लिटर भटमास खाने तेल र खाना पकाउने ग्यास एक सिलिण्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्