Logo

कोरोनामा जनताको सारथि बन्दैछ ‘मलम पट्टी’ अभियान



– किरण पौड्याल इलाम, २२ जेठ: केही साताअघि युवाको अगुवाइमा जुटेको ‘मलम पट्टी’ अभियानले अहिले गाउँगाउँमा पुगेर सेवा दिँदै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम गरिरहेको छ ।

अभियानले खडा गरेको राहतमा इलामेसँगै प्रवासमा रहेकाले समेत सहयोग जुटाइरहेका छन् । अभियानले अहिले स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिरहेको छ । अभियानका अभियानकर्मी निरोज खड्गीका अनुसार एक पालिकालाई रु एक लाख ४० हजार बराबरको सामग्री वितरण गरिँदैछ ।

“हाम्रो अभियान निरन्तर चलिरहेको छ, अहिले पनि हामी माई नगरपालिकामा छौ”, खड्गीले भने, “हामीले स्वास्थ्यका लागि अत्यावश्यक पर्ने सामग्री वितरण गरिरहेका छौँ ।” अहिले सो अभियानले सेमी फोल्डिड शय्या तीन, सादा शय्या दुई, पिपिई १० सेट, स्यानिटाइजर १० लिटर मास्क ५०० थान, ग्लोब्स ४०० जोर, फेस सिल्ड १०, थर्मल गन एक र अक्सिमिटर तीन थान हस्तान्तरण गरिरहेको छ ।

हालसम्म इलाम नगरपालिकास्थित अस्पतालमा रु छ लाख बराबरको अक्सिजन मेसिन जडान गरेको छ । अन्य नौ स्थानीय तहमध्ये सातमा अभियानले सामग्री पठाइसकेको छ । जिल्लाका देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकामा भने सामग्री पठाउन बाँकी रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर चिपालुले जानकारी दिए ।

उनका अनुसार सबै स्थानीय तहमा सामग्री वितरणपछि सर्वदलीय र सर्वपक्षीय बैठक राख्ने तथा नयाँ सामग्री कहाँ कहाँ पठाउने छलफल गरिनेछ । बुधबार मात्रै अभियानले नेपाल पत्रकार महासङ्घलाई समेत सामग्री वितरण गरेको थियो । ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियानअन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिमा उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्घ, निरोज खड्गी र रतन चौधरी सदस्य छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सङ्क्रमितलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीव्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिश्रित औषधिलाई सङ्क्रमितसमक्ष पु¥याउन थालेको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्