Logo

मन्त्रालय स्थानान्तरणको तयारी



देउखुरी, २२ जेठ: चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गर्ने योजना छ । अहिले अस्थायी राजधानी बुटवल मुकामका रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय स्थापना गर्न थालेको छ । पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो ।

ग्रामीण तथा शहरी विकास , आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले जानकारी दिए । भर्खरै मात्र राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको छ । सङ्घीयता कार्यान्वयनका लागि प्रदेशको राजधानीले नयाँ सन्देश दिएको मन्त्री रिजालले बताए ।

आन्तरिक मामिला मन्त्रालय पनि स्थायी राजधानीमा लगत्तै सारिने मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । “मुख्यमन्त्री शङ्कर पोख्रेलको चाहनाअनुसार मन्त्रालयको काम राजधानी क्षेत्रबाट अघि बढाउने र त्यहीअनुसार हामीले मन्त्रालयका लागि भवन खोज्न थालेका हौँ”, उनले भने, “हामी छिट्टै राजधानी क्षेत्रमा सर्ने छौँ ।” आगामी साउन १ गतेदेखि १२ जिल्ला हेर्ने तर बुटवल मुकाममा रहेर भाडामा रहेका कार्यालय राजधानी क्षेत्रमा सञ्चालन गर्ने निर्देशन दिइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्