काठमाडौं, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्। बिबिसी हिन्दीलाई हालै दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन्।
नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग भारतले अतिक्रमण गरेको र उक्त भूभाग आफ्नो नक्सामा प्रकाशित गरेको विषयलाई लिएर असमझदारी सुरु भएको थियो। उक्त भूभागलाई दुवै मुलुकले आ–आफ्नो नक्सामा प्रकाशित गरे पनि सम्वादबाट समस्याको समाधान गर्ने प्रक्रिया भने अझैसम्म पनि बढ्न सकेको छैन।
प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दुइ देशबीचमा कुनै बेला असमझदारी उत्पन्न भएको तर अहिले त्यो असमझदारी हटिसकेको बताएका छन्। उनले कुनै बेला असमझदारी थियो भनेर त्यसैमा अल्झिरहन नहुने पनि बताएका छन्। ‘हामीले भविष्यतर्फ हेर्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने।
ओलीले छिमेकीबीच समस्या हुने बताएका छन्। ‘चिली वा अर्जेन्टिनाका सेनासँग न तपाईको प्रेम हुन्छ न घृणा। किनभने हामी त्यहाँ जाँदैनौँ र उनीहरू यहाँ पनि आउँदैनन्। जब छिमेकीको कुरा हुन्छ त्यहाँ प्रेम र समस्या भइरहन्छन्,’ उनले भनेका छन्। नागरिक दैनिकबाट