Logo

सोलु करिडोर अझै अनिश्चित



उदयपुर, जेठ २७ । झन्डै तीन वर्षदेखि अवरुद्ध सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण झनै अनिश्चित बनेको छ । प्रदेश १ को उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु तथा प्रदेश २ को सिरहासमेत चारवटा जिल्लाभित्र निर्माण गरिने उक्त प्रसारण लाइनको काम उदयपुरको कटारी क्षेत्रमा स्थानीयवासीले अवरोध गरेपछि अनिश्चित बनेको हो ।

राष्ट्रिय गौरवको सो आयोजना निर्माणमा उदयपुरको कटारी नगरपालिका–४, मरुवा क्षेत्रका स्थानीयवासीले आफूहरूको घर र धान फल्ने खेत नै प्रभावित हुने भन्दै सो क्षेत्रमा १३२ केभी डबल सर्किट प्रसारण लाइनको बाटो ९एलाइनमेन्ट० परिवर्तनको माग राखेर आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् ।

त्यसै कारण करिब तीन वर्षदेखि त्यस क्षेत्रमा काम अघि बढ्न सकेको छैन । प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा २०७६ माघ २० देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सोलुखुम्बुमा उत्पादन हुने विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको भए पनि कटारी नगरपालिका–४, मरुवा, सिम्ले, बरमझियाका स्थानीयवासीको अवरोधका कारण काम अघि बढ्न नसकेको सोलु करिडोर डबल सर्किट प्रसारण लाइन निर्माण कम्पनी मोहन इनर्जी कम्पनी प्रालिका प्रोजेक्ट मेनेजर इन्जिनियर अलराजा दुराईले बताउनुभयो ।

सोलुदेखि सिरहासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्नेमा पहिला रुख कटानको समस्याले लामो समय काम हुन सकेन । त्यसपछि कटारी क्षेत्रमा स्थानीयवासीको अवरोधले काम रोकिएको छ ।नेपाल सरकारले जति छिटो अवरोध हटाउन सक्छ त्यति नै छिटो काम सम्पन्न गर्न आफूहरू तयार रहेको तर यस्तै अवस्था रहिरहे अब बीचमै काम छोडेर जान सकिने प्रोजेक्ट मेनेजर इन्जिनियर दुराईले बताए।

आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावरमध्ये २९२ वटा टावर निर्माण सम्पन्न भइसकेको उनले बताए तर कटारीको मरुवा क्षेत्रका १० वटा टावरको जग निर्माणमा भने स्थानीयवासीको अवरोध भएकाले एक इन्च पनि काम गर्न नसकिएको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्