लहान, जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये आधाभन्दा बढी कोर मधेस अर्थात् प्रदेश २ बाट छन्। २५ सदस्यीय मन्त्रिमण्डलमा १४ जना प्रदेश २ बाट छन्। तिनमा जनता समाजवादी पार्टी (जसपा) का ९ जना छन्। अहिले मुद्दाको होइन, सत्ताको खेल भइरहेको छ जसमा जसपा निर्णायक देखिएकाले बढ्ता लाभ पाइरहेको विश्लेषक बताउँछन्।
मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन। सरकारले मधेसका केही प्राविधिक र प्रशासनिक मुद्दामात्र सम्बोधन गर्न सक्छ। तर पछिल्लो घटनाक्रम हेर्दा सरकारबाट सम्बोधित मुद्दा पनि न्यायालय र प्रशासनले रोकिदिएको अवस्था छ। मधेस मामिलाका विश्लेषक तुलानारायण साहका अनुसार अहिले चलिरहेको खेल विशुद्ध सत्ताको हो, जसमा दुईवटा पोल निर्धारण गरिएको छ।
‘एउटा पोलको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी ओली र अर्को पोलको नेतृत्व नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले गरेका छन्। दुवै नेतृत्वको उद्देश्य भनेकै सत्ता हो। एउटाले आफ्नो सत्ता टिकाइराख्न चाहेका छन्, अर्कोले सत्तामा पुग्न’, साहले भने, ‘यो खेलमा जसपा निर्णायक बन्न पुगेको छ ’। सत्तामा पुग्नेबित्तिकै मुद्दा सम्बोधन नहुने भन्दै साह थप्छन्,‘मुद्दा सम्बोधन आन्दोलनको राजनीतिबाट हुने हो। सत्ताको राजनीतिबाट हुने हाइन।’
मधेस मुद्दा ओझेल पर्नुमा मधेसी दलका नेतृत्वकर्ताको कमजोरीमात्र कारण नरहेको साहको विश्लेषण छ। ‘मधेसी दलका नेतृत्वकर्ताले चाहेर मात्रै पनि सम्बोधन भइहाल्ने खालको मुद्दा होइन यो,’, उनी भन्छन्, ‘यो संविधान संशोधनसँग जोडिएको छ र संविधान संशोधन संसद्मा दुईतिहाइ नभई हुँदैन। जसका लागि राजनीतिक सहमति आवश्यक पर्छ।’
मधेस मुद्दामा अहिलेसम्म दुई थरी राजनीति देखिएको विश्लेषक साह बताउँछन्– एउटा आन्दोलनको राजनीति अर्को सत्ता राजनीति। ‘आन्दोलनको राजनीतिमा मुद्दाले प्राथमिकता पाउँछ। त्यो बेला नेपाली राजनीतिमा साम्प्रदायिक ध्रुवीकरण हुन्छ र मधेस मुद्दा एक्लिन्छ, ओझेल पर्छ’, साह भन्छन्, ‘जब सत्ताको राजनीति हुन्छ त्यो बेला दलीय ध्रुवीकरण हुन्छ। यो बेला सरकार, मन्त्री इत्यादिले प्राथमिकता पाउँछन्।’ यी दुवै राजनीतिमा मधेसका मुद्दा कहिल्यै प्राथमिकतामा नपरेका कारण असम्बोधित दस्तावेज बनेर बसेको साहको विश्लेषण छ।
सत्ताको राजनीतिमा नेताहरूको थरीथरीको विचार बाहिर आउने गरेको छ, प्रतिगमन, अग्रगमन, इगो आदिआदि। अहिले मधेस राजनीतिमा भएको पनि त्यही हो। सत्ता राजनीतिमा निर्णायक जसपाभित्र दुईथरी विचारले ध्रुवीकरण भयो। एकथरीले ओलीलाई प्रतिगमनकारी करार गर्दै पहिचान र परिवर्तनकारी शक्ति उनको सारथि बन्न नहुने अडान राखे।
अर्कोथरीले आन्दोलनकारीमाथि लागेका मुद्दा सम्बोधन गरिदिए प्रतिगमनकारी नै भए पनि ओलीको सत्तामा सारथि बन्ने विचार प्रस्तुत गरे। यही कारण जसपा दुई चिरा भयो। एउटा चिरा ओली नेतृत्वको सरकारमा पुग्यो। अर्को चिरा प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्चको आदेश पर्खेर देउवा नेतृत्वको कित्तामा बसेको छ। दुवैथरी विचारधाराको गन्तव्य सत्ता नै हो। मुद्दा त दुईतिहाइको सहमति नभई सम्भव नै छैन। नागरिक दैनिकबाट