काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको लागि आफू तयार रहेको तर अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेका शर्तहरु मान्नुपर्ने बताएका छन् । आफूनिकट नेताहरुले पार्टी एकताको लागि वरिष्ठ नेता नेपाललाई दबाब दिईरहेका छन् । अध्यक्ष ओली र नेता नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरु पछिल्लो समय गम्भीर छलफलमा समेत जुटेका छन् ।
उनीहरुले अदालतको पछिल्लो आदेशअनुसार पनि एमालेलाई एक ढिक्का बनाउन मद्दत पुगेको भन्दै तत्काल सहमति कायम गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष ओलीले यसअघि गरेका कारबाहीलाई समेत अदालतले मान्यता नदिएपछि नेताहरुबीच फेरि सहमति कायम गरेर अघि बढ्नुपर्नेमा दोस्रो तहका नेताहरुले आवाज उठाएका हुन् ।
तर, नेता नेपालले भने ओलीले एकपछि अर्को गरेर विधानविपरितका काम पार्टीमा गरेको र प्रधानमन्त्रीको रुपमा संविधानलाई नै मिच्ने काम गरेको भन्दै मिल्नको लागि आफूले अघि सारेका ६ बुँदे प्रस्तावको साथै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने, र संसद् विघटन गर्नु गलत थियो भनेर सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने अडान राखेका छन् ।
पछिल्लो समय नेता नेपाल कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव र जनमोर्चाको विपक्षी गठबन्धनमा छन् । नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर नै गरेका छन् ।
अध्यक्ष ओलीलै हालै गरेको पार्टी एकता आह्वानमा अदालतमा गरिएका हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन् । जुन नेता नेपाल पक्षले ठाडै अस्विकार गरिदिएको छ । प्रधानमन्त्री ओलीले हाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । जसपाका ११ जनालाई सहभागी गराएर उनले मन्त्रिपरिषद विस्तार गरिसकेका छन् ।
आफूनिकट नेताहरुसँग नेता नेपालले अब ओलीसँग सम्झौता नहुने बताउने गरेका छन् । पछिल्ला स्थायी कमिटी सदस्यहरुसँगको भेला र केन्द्रीय सदस्यहरुसँगको बैठकमा पनि ओलीसँग कुनै पनि हालतमा नझुक्ने अडान नेता नेपालले राखेका थिए । पार्टी एकता चाहेको हो भने अध्यक्ष र ओली दुवै पदबाट राजीनामा दिनुपर्ने नेपालको नयाँ शर्त छ । File Photo/ReportersNepal