Logo

महेश बस्नेत निष्कृय बनेलगत्तै ओलीलाई धमाधम धक्का



काठमाडौं, ३० जेठ । नेकपा एमालेका नेता महेश बस्नेत जुझारु मात्र नभई जोखिम मोल्न सक्ने पनि हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि राजनीतिक जीवन नै पटक पटक दाउमा राखेका छन् । जतिसुकै बदनामी भएपनि जोखिमयुक्त भूमिका निभाएर ओलीको सत्ता संकट टारेका छन् ।

बस्नेतकै कारण प्रदेश र केन्द्रसम्म एमाले नेतृत्वको सरकार ढल्न नदिने अनेकन घटनाहरु भए । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार जोगाउन पनि बस्नेतले भूमिका खेलेका थिए । उनले जनमोर्चाका खिमविक्रम शाहीलाई प्रभावमा पार्न पोखरासम्म आफ्ना विश्वासपात्र परिचालन गरेका थिए । शाही सम्पर्कविहिन हुने देखि कोभिड आइसियु वार्डमा पुग्ने सम्मको घटनाका पछाडि बस्नेतको भूमिका थियो ।

तर, महेश बस्नेत केहीदिनयता निष्कृय भए । गृहमन्त्री बन्नबाट रोकिएपछि उनी असन्तुष्ट भएका छन् । पोखराकै नेता खगराज अधिकारी गृहमन्त्री बनाइए । तर, अधिकारीले पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार बचाउन सकेनन् । बस्नेतले पनि यसपटक हात छाडिदिए । जसका कारण गणेश लामा सक्रिय भएर दिपक मनाङेलाई आश्वस्त पार्न सके । सत्ता विरोधी गठबन्धनको हातमा पुग्यो ।

यसअघि ओलीको सत्ता संकट टार्न जसपाको महन्थ ठाकुरलाई पक्षमा पार्न पनि बस्नेतले डोलेश्वर रिसोर्ट पुर्याएर व्यवस्थापन गरेका थिए । तत्कालीन समाजवादी पार्टी फुटाउन बस्नेत महोत्तरी पुगेर डा. सुरेन्द्र यादवलाई गत वर्ष काठमाडौं ल्याएका थिए । पछि उक्त घटना अपहरणका रुपमा चर्चित भयो । महेश बस्नेत बदनाम भए । तर, उनले ओलीका लागि यस्ता धेरै बदनामीको भारी बोकिसकेका छन् ।

विगतमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन बस्नेतले नै भूमिका खेलेको चर्चा चल्यो । उनले आफ्नो संयन्त्र परिचालन गरेका थिए ।

यसरी पटक पटक ओलीका लागि जोखिम मोलेका र बदनामै हुने सम्मको भूमिका निभाएका बस्नेत निष्कृय हुनेवित्तिकै प्रदेशहरुमा एमाले सरकार धमाधम ढल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्