Logo

जसपामा राजकिशोर यादव तटस्थ, एमाले प्रवेश गर्न लागेको चर्चा !



काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी, नेपालभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारबाहीसमेत गरेका छन् । तर, निर्वाचन आयोगले भने दुवै पक्षको कारबाहीलाई युक्तिसंगत नभएको भन्दै अस्विकार गरेको छ । जसपामा ठाकुर पक्ष कार्यकारिणी समितिमा अल्पमतमा छ । तर, संसदीय दलमा भने ठाकुर पक्ष बहुमतमा छ । पछिल्लो समय ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउँदै आएको छ । अहिले ठाकुर पक्षबाट वर्तमान सरकारमा ९ मन्त्री र २ राज्यमन्त्रीसहित ११ जना सहभागी छन् ।

यीमध्ये राजकिशोर यादव भने पछिल्लोपटकको मन्त्रिपरिषद विस्तारमा परेका हुन् । उनलाई ठाकुर पक्षले मन्त्री बनाएको भन्दापनि प्रधानमन्त्री ओलीले कारण मन्त्री बनेको चर्चा छ । मन्त्री बन्नु अघिल्लो दिन यादवले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर करिब दुई घण्टा गोप्य भेटवार्ता गरेका थिए । ओलीले यादवलाई राम्रो मन्त्रालयसमेत दिएकोले उनको ओलीसँग कति घनिष्ठ सम्बन्ध रहेछ भन्ने कुरापनि पुष्टि भएको छ । उनी ओली क्याबिनेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।जसपाभित्रको विवाद मिलाउनुपर्ने पक्षमा उभिँदै आएका यादवले पछिल्लो समय ठाकुर पक्षलाई साथ नदिएका समाचार पनि आएका छन् ।

महन्थले नबनाएर के भो राजकिशोरलाई ओलीको सिधा साथ

कार्यकारिणी समितिमा बहुमत पुर्याउने कसरतमा जुटेको ठाकुर पक्षको हिजोदेखि बैठक जारी छ । तर, काठमाडौंमै रहेका यादव भने ठाकुर पक्षको बैठकमा गएका छैनन् । हिजोपनि उनलाई कुर्दा बैठक दुई घण्टा ढिला सुरु भएको थियो । सुरुमा नेताहरुले यादवलाई कुरेकोले बैठक सुरु नभएको प्रतिक्रिया दिएका थिए । तर, अन्तिममा यादव सम्पर्कमा नआएपछि बैठक सुरु भएको थियो । आजको बैठकमा पनि उनी गएका छैनन् । ठाकुर पक्षले पनि आफूहरुलाई यादवले धोका दिएको निश्कर्ष निकालेको छ । यादवले भने आफू पार्टी एकताको पक्षमा रहेको दाबी गर्दै आएका छन् ।

जसपाबाट दश जनाले सपथ लिएको दिन उनी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षधर नेता अशोक राईसँग छलफल गरिरहेका थिए । उनी आँफैले पनि यो कुरा खुलासा गरेका छन् । पछिल्लो समय यादवलाई मन्त्री बनाउन ठाकुर र शीर्ष नेता राजेन्द्र महतो अनुदार बनेका थिए । ठाकुर र महतोले आफूलाई बाईपास गर्न खोजेको भन्दै यादवले सिधै प्रधानमन्त्री ओलीसँग सहकार्यको हात अघि बढाएका थिए ।

यादवको प्रधानमन्त्री ओलीसँगको निकटताको कारण कतिपयले उनी नेकपा (एमाले) मा नै प्रवेश गर्ने पनि विश्लेषण गर्न थालेका छन् । हुन त ओलीले मधेशमा पार्टीलाई बलियो बनाउनको लागि जसपाको ठाकुर पक्षसँग सहकार्यको हात बढाएका छन् । र, यो गठबन्धन आगामी चुनावसम्म कायम राख्न चाहन्छन् । ओलीको जसपासँगको पछिल्लो सहकार्यको कारण उनले यादवलाई आफ्नो पार्टीमा भित्र्याउनको लागि कसरत नगरेको भनेर भन्न सकिँदैन् । बरु, यादव एमालेमा जान्छन् वा जाँदैनन् ? त्यो भने हेर्न बाँकी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्