डोटी १ असार : जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी-कपडा, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूटीपार्लर, जिमहल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ । रासस/File Photo