काठमाडौं, १ असार । नेकपा एमालेको केपी शर्मा ओली खेमामा पनि विवाद देखिन थालेको छ । ओली समूहको संघर्ष गण्डकी प्रदेशमा खुलेको छ । जसका कारण पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढल्न पुग्यो ।
एमालेको कास्की क्षेत्रमा यसपटक निकै टकराव देखियो । नेता पृथ्वी सुब्बा गुरुङ्ग खगराज अधिकारीलाई गृहमन्त्री बन्नबाट रोक्न लागेको बुझिएको छ । गुरुङ्गले अन्तिम समयसम्म अधिकारीलाई रोक्न खोज्दा पनि सकेनन् । अधिकारीलाई रोक्न पूर्वखेलकुदमन्त्री जगत विश्वकर्मा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी पनि लागेका थिए ।
बालुवाटारमा समेत गुरुङ्ग समूहले अधिकारीलाई रोक्न भूमिका खेलेको विश्वस्त स्रोतले जानकारी दिएको छ । कास्कीबाट विद्या भट्टराईलाई मन्त्री बनाउने सम्मको प्रयास भयो । तर, सफल हुन सकेन ।
अन्तमा खगराज अधिकारीले बाजी मारे । उनले पनि पृथ्वी सुब्बा गुरुङ्गको सत्ता जोगाउन सहयोगी भूमिका निभाएनन् । आफूलाई गृहमन्त्री बन्नबाट रोक्न खोजेको भन्दै असन्तुष्ट भए ।
खगराजको असहयोगका कारण स्वतन्त्र सांसद दिपक मनाङे पनि बिच्किए । उनी खेलकुद क्षेत्रमा पोखरामा आफूविरोधी हावी भएकोमा असन्तुष्ट थिए । उनलाई मिलाउन गणेश लामा पनि काठमाडौंबाट पोखरा पुगे । गृहमन्त्री नै पृथ्वी सुब्बा गुरुङसँग सम्बन्ध राम्रो नभएका अधिकारी हुने भएपछि मनाङे ढुक्क भइसकेका थिए । त्यसैले उनी गुरुङलाई साथ नदिई कृष्णचन्द्र नेपालीको पक्षमा पुगे ।
मनाङेले साथ नदिएको भए नेपाली मुख्यमन्त्री हुने सम्भावना कमजोर हुन्थ्यो । मनाङेलाई मिलाउन एमालेको ओली समूहका केही हस्तीहरु नै लागेनन् । जसले गुरुङ्गको सत्ता ढल्यो ।
यसैगरी, खगराज अधिकारीलाई रोकेर महेश बस्नेतलाई गृहमन्त्री बनाउने अर्को प्रयास अपरान्हसम्म भएको थियो । बस्नेतलाई बनाउन प्रधानमन्त्री ओली कन्भिन्स भएनन् । यसका पछाडि उनकै सल्लाहकार लागेको विषय बाहिर आइसकेको । स्वयं महेश बस्नेतले यसको खुलासा गरिसकेका छन् ।