केही वर्षअघि स्वीटरजरल्यान्डको मदिरा कम्पनी टुरविनेनब्राउले हातमा बियरको गिलास लिएर मुस्कुराइरहेको दिवंगत राजा वीरेन्द्रको फोटो राखेर उनकै नामको बियर उत्पादन गर्यो । स्वीस कम्पनीले ‘वीरेन्द्र’ बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको थियो । नेपालमा यसबारे हल्लाखल्ला र विवाद हुँदा कम्पनीले बियर उत्पादन नै बन्द गरिसकेको खबर आयो । तर त्यसपछि धेरै नेपालीको मनमा चस्का पस्यो, के राजा वीरेन्द्र साँच्चै पियक्कड नै थिए त ?
राजा वीरेन्द्रको पियक्कड स्वभावबारे अनौपचारिक प्रसंग थुप्रै सुनिए पनि लिखित रुपमा त्यति धेरै सामग्री पाइँदैनन् । यद्यपि वरिष्ठ पत्रकार भैरव रिसालले ‘उहिलेको नेपालः भोगेको, देखेको, सुनेको’मा यसबारे थोरै चर्चा गरेका छन् ।
रिसाललाई वीरेन्द्रको मदिरा प्रसंग सुनाएका रहेछन्, पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले । आचार्यसँग राजा वीरेन्द्रले यदाकदा साँझपख राजदरबारमा रायसल्लाह लिँदा रहेछन् । उनी राजालाई प्रायः गिलास लिएर बसेको देख्दा रहेछन् । र, आफू मद नलिने आचार्यलाई राजाले मदिरा पिएको पटक्कै चित्त बुझेनछ र लप्पनछप्पन नगरी भनिदिएछन्, “राजाले धेरै जाँड खानुहुँदैन । राजाले त देश पो चलाउनुपर्छ ।”
उनले राजालाई त्यसरी सल्लाह दिँदा रानी ऐश्वर्य पनि सँगै रहिछन् । राजाले खाएको ब्रान्डीलाई जाँड भनिदिँदा उनले आचार्यलाई त्यहीँ झम्टिछन्, “राजाले ड्रिङ्क नगरे कसले गर्छ त ? फेरि यो जाँड होइन, ब्राण्डी हो ।” टंकप्रसादले पनि तत्काल जिब्रो नचपाईकन भनेछन्, “ब्राण्डी भने पनि ह्विस्की भने पनि असली नाम त जाँडै हो नि । यसले पनि नशा दिने त हो ।” त्यसपछि दरबारसँग उनको सम्बन्ध त्यति सुमधुर हुन सकेनछ ।
त्यसो त आम जनताको बुझाइमा राजदरबार भोगविलासको अखडा नै हो । इतिहासदेखि नै राजामहाराजाहरु सुरा र सुन्दरीमा जोडिएकै छन् । राजा त्रिभुवन, उनका पिता पृथ्वीवीर विक्रम पनि ‘मदिराबाज’ नै मानिएका छन् । इतिहासमा मदिराप्रेमी राजाका रुपमा भने वीरेन्द्र नै चिनिएका छन् । बियर उत्पादनले होस् या अन्य मदिरा प्रसंगले । अरु कुरामा रानीसँग विवाद भए पनि मदिराका सवालमा उनको त्यति मतभेद थिएनन् । उनले वीरेन्द्रलाई पिउने मामिलामा कहिल्यै रोकिनन् ।
त्यतिबेला राजनीतिज्ञ आचार्यको सल्लाह गलत चाहिँ थिएन । सुझबुझका साथ राजपाठ सम्हाल्नुपर्ने राजा नै हरेक साँझ नशामा झुम्न थालेपछि देशको हालत के होला ? आचार्यले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्याउने पेय खानुहुँदैन’ सम्झाए पनि राजपरिवारले भने त्यसलाई रुचाएन । बरु राजाको मदिरा मात्रा र लसपस बढेको बढ्यै भयो । रिसालले लेखेका छन्, ‘नभन्दै पारिवारिक भोजको मादक माहोलमा १९ जेठ २०५८ मा राजा वीरेन्द्र र उनको वंश विनाशै भयो ।’ साँचो हो कि होइन, तपाईं आफू पनि ठन्डा दिमागले विचार गर्नूस् । Photo Source: Wikipedia