सिन्धुपाल्चोक, असार ६ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना अझै वेपत्ता भएको बताइएको छ ।
मंगलवार भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा आएको बाढीमा परि चार जना महिलासहित २३ जना वेपत्ता भएका हुन् ।
हेलम्बु गाउँपालिकाले निकालेको विज्ञप्ति अनुसार बाढीमा बेपत्ता हुनेहरुमा १५ जना स्थानीय बासिन्दा र आठ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्नेहरु रहेका छन् । मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीलाई बाढीले बगाएको बताइएको छ ।
बाढीबाट मेलम्ची बजारमा भएको क्षतिको चर्चा भए पनि हेलम्बुमा पनि ठूलो जनधनको क्षति भएको थियो ।
बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले एक सय १२ परिवार विस्थापित भएका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका झण्डै २५ पसल बाढीले बगाएको छ ।
त्यस्तै किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको छ । बाढीले ६ वटा झोलुङ्गे पुल र तीन वटा मोटरेबल पुल बगाएको गाउँपालिकाले जनाएको छ ।