Logo

हेटौँडा उपमहानगरपालिकाद्वारा आँखा अस्पताललाई १० लाख सहयोग



मकवानपुर, ६ असार: हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरीद गर्नका लागि रु १० लाख हस्तान्तरण गरेका हुन्।

अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेशिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताए ।

यसैगरी उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेशिन खरीद गरी बिरामीको आँखा परीक्षणलाई प्रभावकारी र सहज हुने अस्पतालले जनाएको छ । अस्पतालले मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन् । उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्