Logo

अदालतको आदेशले नेकपा फुटायो जसपा जुटायो



काठमाडौं, ९ असार । फुटिसकेको जनता समाजवादी पार्टी सर्वोच्च अदालतको मङ्गलबारको आदेशले एक हुने भएको छ । मन्त्री बन्न गएको विषयमा परेको विवादले जसपा फुटेर औपचारिक विभाजन मात्र बाँकी थियो ।

८ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेकोविरुद्ध अन्तरिम आदेश जारी गरेपछि जसपाका ११ मन्त्री पदमुक्त भए । ती ११ मन्त्री विघटित प्रतिनिधि सभाका सांसद थिए । उनीहरु अध्यक्ष महन्थ ठाकुर पक्षधर हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवै निर्वाचन आयोगमा आधिकारिकताको दाबी गर्दै सक्रिय छन् । अब जुन मुद्दाले जसपा औपचारिक विभाजनतर्फ बढेको थियो त्यो नै नभएपछि अब फेरि एकताको कुरा हुन थालेको छ । जसपाका मध्यमार्गी नेताहरुले विगतमा जे भयो अब मिलेर जानुपर्ने भन्दै सक्रियता बढाउन थालेका छन् । हिजोको अदालतको आदेशले जसपालाई जुटाइदिने बाटो बनाइदिएको छ ।

यसअघि सर्वोच्च अदालतको २३ फागुन २०७७ को आदेशले नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको छ । अदालतको सोही आदेशले औपचारिक रुपमा विभाजन हुन लागेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पुरानै अवस्थामा पुर्याइदिएको थियो । एमाले र माओवादी विभाजन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्