Logo

केपी ओलीलाई प्रधानमन्त्रीबाट विदा गर्दा मुलुकले एक प्रकारले शान्ति पाउनेछ : खतिवडा (भिडिओसहित)



काठमाडौं, १० असार । नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटलाई निरन्तरता दिएको गम्भीर आरोप लगाएका छन् । उनले सारांशमा एमाले विभाजित रहेको तर कानूनी रुपमा विभाजन नभएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी ओली देशको लागि योग्य प्रधानमन्त्री बन्न नसकेको पनि जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले देशको राष्ट्रिय हितको भन्दा पनि अरु कसैको स्वार्थ पूरा गर्न लागेकोले आफूहरु देश ठूलो हो भनेर ओलीविरुद्ध उभिएको जिकिर गरे । उनले भने, यसकारण दुःखका साथ भन्नुपर्छ कमरेड केपी ओलीलाई सहयोग गर्न नसकेकोमा हामीलाई दुःख छ, तर दुःखका साथ भन्नुपर्छ कमरेड केपी ओलीले जे प्रकारको राष्ट्रिय हितलाई घात गर्ने काम गर्नुभयो, यसप्रति झन धेरै दुःख छ ।’

उनले प्रधानमन्त्री पदबाट ओलीलाई विदा गर्दा मुलुकले एक प्रकारले शान्ति पाउने पनि दाबी गरे । उनले भने,‘किनभने उहाँले राज्य सत्ताको दुरुपयोग गरेर पार्टीभित्र, सरकारमा, संविधानमा, मुलुकको शासन प्रणालीमा हरेक ठाउँमा यति धेरै तनाव सिर्जना गर्नुभएको छ कि उहाँको दबाबभित्र सायद राष्ट्रपति पनि त्यही ढंगले संलग्न हुनुहुन्छ अथवा राष्ट्रपतिलाई त्यही दबाबमा राख्नुभाछ, त्यसकारण अब प्रधानमन्त्रीको कठपुतलीको रुपमा राष्ट्रपति राख्ने र राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानका विरुद्धमा षड्यन्त्र गर्ने, यो जस्तो विडम्बनापूर्ण स्थितिको अन्त्य गर्नको लागि त प्रधानमन्त्री त्यो कार्यकारी पदबाट हट्नैपर्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्