काठमाडौं, १० असार । धनुषा आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालमाथि अख्तियारले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । ढकालमाथि सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने भन्दै १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकृत ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने भन्दै १ लाख ५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको थियो ।
ढकालमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेका अख्तियारको प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।