ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको दशौं नगरसभाले आउँदो आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको छ । नगरसभाले नगरपालिकामा २ वडा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले महत्वपूर्ण निर्णयसहित नगरसभा सम्पन्न भएको जानकारी दिए । उनले आउँदो आर्थिक वर्षका लागि १ अर्ब ९४ करोडको बजेट विनियोजन गरेको बताए ।
मतदाताहरुसमक्ष घोषणा पत्रमार्फत् गरिएको अधिकांश प्रतिवद्धता पूरा हुने दिशामा रहेको समेत मेयर श्रेष्ठले बताए । उनले महत्वपूर्ण निर्णयहरु नगरसभाले गरेकोमा सुझाव र सल्लाह दिने सबैलाई धन्यवाद व्यक्त गरे ।
नगरसभामा प्रदेश सांसद माधव पौडेल, मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, वडाध्यक्ष, वडासदस्यहरुको सहभागिता थियो ।
यसपटक जनसंख्या र भूगोलका आधारमा महालक्ष्मी नगरपालिकाको वडा नं ८ र ९ मा वडा थप्ने प्रस्ताव समेत पारित भएको छ ।