Logo

यो साता ४ ५ भन्दा बढीले घट्यो नेप्से परिसूचकः लगानीकर्ताले करीब २ खर्ब गुमाए



काठमाडौं, असार १२ । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ ।

गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।

नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।

चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

यो साता गत साताभन्दा कारोबार रकम ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम ७ अर्ब ३ करोडमा खुम्चिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्