डोटी, १२ असार: जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः शुरु गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः शुरु गरेको जनाएको छ ।
कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित बार तय गरी सेवा पुनः सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
नौ स्थानीय तह रहेको जिल्लामा नागरिकता, नाबालक परिचयपत्र तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई बार निश्चित गरिएको हो । त्यसअनुसार बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि आइतबार र सोमबार आउन भनिएको छ ।
त्यसैगरी शिखर नगरपालिका र केआइसिंह गाउँपालिका सेवाग्राहीले मङ्गलबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । सायल र आदर्शगाउँपालिकाका सेवाग्राहीलाई बुधबार र बिहीबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ ।
यसैगरी जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी तथा पूर्वीचाँकी गाउँपालिकाका सेवाग्राहीले शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमणबाट बच्न र कार्यालयमा भीडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रजिअ सुनिल खनालले जानकारी दिए।
सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबै सेवाग्राहीमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरिएका आफ्ना सेवा पुनः सञ्चालन गरेपछि यहाँका नागरिक निकै खुशी भएका छन् ।-रासस/File Photo