Logo

थलिएको होेटेल क्षेत्रलाई महानगरको राहत



काठमाडौं, असार १३। कोरोना भाइरसको संक्रमणका कारण पर्यटक आगमन ठप्पप्रायः हुँदा थलिएको होटेल क्षेत्रलाई काठमाडौं महानगरपालिकाले राहत दिएको छ ।

होटेलहरूले बुझाउनुपर्ने सम्पत्ति करमा उच्च छूट दिएपछि व्यवसायीले राहत महसूस गरेका हुन् । महानगरपालिकाको निर्णयअनुसार आगामी आर्थिक वर्ष २०७८र७९ मा होटेलहरूले तिर्नुपर्ने सम्पत्ति करमा ९० प्रतिशत छूट पाएका छन् । होटेलहरूले बुझाउनुपर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छूट महानगरले दिएको हो ।

सम्पत्ति कर छूट आगामी आर्थिक वर्षमा पनि पुनः निरन्तरता दिइएको भन्दै होटल एशोसिएशन नेपाल ९हान०ले महानगरको निर्णयको स्वागत गरेको छ । काठमाडौं महानगरपालिको हालै सम्पन्न नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा उक्त छूट उपलब्ध गराइएको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटेल तथा पर्यटन उद्योग दोस्रो लहरले थप संकटको अवस्थामा पुगिसकेको बेला गतवर्षभन्दा थप गरी छूट प्रदान गरिएकाले ठूलो राहत मिलेको हानद्वारा शुक्रवार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

महानगरपालिकाले यस वर्ष पनि सम्पत्ति करमा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी ८५ प्रतिशत छूट उपलब्ध गराएको थियो । कोभिड–१९ को यस अवस्थामा होटल तथा पर्यटन उद्योग पूर्ववत् रूपमा फर्कन अझै ५ वर्ष लाग्ने प्रक्षेपण गरिएको छ । यसैगरी यस किसिमको सहुलियत आगामी वर्षहरू अर्थात् पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनुपर्नेमा हानले जोड दिएको छ । साथै अन्य स्थानीय निकायहरूको तर्फबाट समेत पर्यटन पुनरुत्थानका लागि यस प्रकारको सहयोग हुनुपर्ने हानको आग्रह छ ।



प्रतिक्रिया दिनुहोस्